लायन्स क्लब अफ जनकपुरधामको वार्षिकोत्सवमा मानव सेवा आश्रममा खाद्यान्न सहयोग

जनकपुरधाम, ११ जेठ । सामाजिक सेवा र मानवीय सहयोगका कार्यमा सदैव अग्रणी रहँदै आएको लायन्स क्लब अफ जनकपुरधामले आफ्नो ४८औं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रम जनकपुरधाममा विशेष सेवा कार्यक्रम सम्पन्न गरेको छ ।
वार्षिकोत्सवका अवसरमा क्लबले आश्रममा आश्रित लक्ष्मीनारायणहरुलाई आवश्यक खाद्यान्न सामग्री वितरण गर्नुका साथै बिहानको भोजन सेवा पनि प्रदान गरेको हो । सेवामूलक भावना र मानवता प्रेरित उद्देश्यका साथ सम्पन्न कार्यक्रममा क्लबका अध्यक्ष सुशील सिंहको नेतृत्वमा क्लबका विभिन्न पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रह्यो ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू ऋषिकेश साह, रामबाबु गुप्ता, ज्ञानेन्द्र देव, रामप्रकाश साह, विश्वनाथ साह, गोपालप्रसाद साह लगायतको सहभागिता रहेको थियो । त्यस्तै उपाध्यक्ष प्रसुन मिश्र, सदस्यहरू रामजीवन साह, डा. रोशन साह, डा. सन्तोष साह, संजय सहनी लगायतले पनि सेवा कार्यमा योगदान दिएका थिए ।
मानव सेवा आश्रम परिवारले लायन्स क्लब अफ जनकपुरधामलाई धन्यवाद व्यक्त गर्दै यस्तो सहयोगले आश्रममा आश्रितहरुको मनोबल बढाएको बताएको छ । आश्रमले यस्तो सेवाले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरेको छ ।
जनकपुरधामजस्तो सांस्कृतिक शहरमा सामाजिक संस्थाहरूले अग्रसर भएर गरिरहेको यस्ता कार्यले मानव सेवा नै नारायण सेवा भन्ने भावनालाई बल मिलेको स्थानीयवासीले बताएका छन् । क्लबले आगामी दिनहरूमा पनि यस्तै सेवामूलक कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


