ढल्केबरमा डिप ट्युबेल सञ्चालनपछि सिँचाइ अभावको अन्त्य, किसानमा उत्साह

जनकपुरधाम, ११ जेठ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरका किसानहरू अब आकासे पानीको भरमा खेती गर्न बाध्य हुने अवस्थाबाट मुक्त भएका छन् । नगरपालिकाले खेतनजिकै नयाँ डिप ट्युबेल गाडेपछि वर्षभर सिँचाइ सुविधा उपलब्ध भई उत्पादनमा वृद्धि हुने आशा पलाएको छ ।
स्थानीय युवा किसान रोशन सिंहले विगतमा इनार वा आकासे पानीको भरमा सीमित मात्रामा खेती गर्दै आएकामा अब सिँचाइ सुविधा पुगेपछि वर्षभरि विभिन्न बाली लगाउने सम्भावना बढेको बताए । ‘पहिले सिँचाइ नहुँदा खेती गर्न हिम्मत आउँदैनथ्यो,’ उनले भने, ‘अब जुनसुकै बेला पनि पानी तान्न मिल्ने डिप ट्युबेल आयो, खेतीप्रति हाम्रो आशा पलाएको छ ।’
मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोका अनुसार सिँचाइ क्षेत्र विस्तार गर्ने उद्देश्यसाथ चालु आर्थिक वर्षमै नगर क्षेत्रभर ३० वटा डिप ट्युबेल गाड्ने लक्ष्य लिइएको छ । तीमध्ये अहिलेसम्म करिब १० वटा डिप ट्युबेल गाडिसकिएको र बाँकी असार महिनाभित्र सम्पन्न गरिने उनले जानकारी दिए ।
महतोका अनुसार सम्पूर्ण योजना पूरा भएपछि करिब ४ सय बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ । यसअघि किसानहरू इनारकै भरमा खेती गर्थे तर गहिराइमा पानी नपुग्ने र सुक्खा समयमा इनार सुक्ने जस्ता समस्या बारम्बार देखिन्थे ।
महतोले बताएअनुसार नगरपालिकाले पूर्वाधार बजेटको पुनःसंरचना गर्दै इनार निर्माणका सट्टा डिप ट्युबेललाई प्राथमिकता दिएको छ । ‘इनार खनेर पनि सिँचाइ सम्भव थिएन,’ उनले भने, ‘त्यसैले भरपर्दो उपायका रूपमा डिप ट्युबेल रोजिएको हो ।’
नगरपालिकाको योजनाबाहेक मधेश प्रदेश सरकारको सहकार्यमा थप १० वटा डिप ट्युबेल गाडिनेछ । यसले करिब १ सय बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउनेछ ।
कमला सिँचाइ परियोजनामार्फत मिथिला नगरपालिका–४ पुष्पवलपुरमा एक करोड रुपैयाँको लागतमा सिँचाइ पूर्वाधार निर्माण कार्यसमेत अघि बढेको नगरप्रमुख महतोले जानकारी दिए । यस्ता योजनाहरूबाट नगरपालिकाभरिका किसान लाभान्वित हुने अपेक्षा गरिएको छ ।
स्थानीय समाजसेवी पशुपति महतोका अनुसार सिँचाइ प्रणालीको विकासले कृषिमा नयाँ जीवन थप्नेछ । ‘जब किसानसँग पानीको भरपर्दो स्रोत हुन्छ, तब उनीहरू वर्षभरि काममा लाग्न सक्छन्,’ उनले भने, ‘यसबाट उत्पादनमा मात्र नभई स्थानीय रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पर्नेछ ।’
किसानहरू अब एकै बालीमा सीमित नभई तरकारी, फलफूल र नगदे बाली पनि लगाउन सक्नेछन् । सिँचाइ सुविधा विस्तारले जलवायु अनुकूलनको दृष्टिले पनि सहयोग पुग्ने र आत्मनिर्भर कृषि प्रणालीतर्फ अघि बढ्न सहयोग पुग्ने विज्ञहरूको बुझाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


