जनकपुरधाम, ११ जेठ । मधेश प्रदेश सरकारका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री इन्जिनियर बसन्त कुशवाहाले प्रदेशमा एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको घोषणा गरेका छन् ।

नेपाल होटेल तथा पर्यटन व्यवसायी महासंघ, मधेश प्रदेशद्वारा वीरगंजमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुशवाहाले रोजगारीको अभाव मधेशको प्रमुख चुनौती रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

मन्त्री कुशवाहाका अनुसार मधेशमा लगानीको सबैभन्दा धेरै सम्भावना भएका क्षेत्रहरू कृषि, उद्योग र पर्यटन हुन् । उनले भने, ‘यी तीनै क्षेत्रलाई एकीकृत रूपमा जोडेर रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । अब प्रदेश सरकारले टुक्रे योजना नभई दीर्घकालीन रणनीति अनुरूप ठोस नीति ल्याउने तयारी गरिरहेको छ ।’

उनले प्रदेश सरकारले कृषिमा आधुनिकीकरण, लघु तथा घरेलु उद्योगको प्रवद्र्धन र पर्यटकीय गन्तव्यको विकासलाई समग्ररूपमा अघि बढाउने बताए ।

पर्यटन क्षेत्रमा रहेको मौकालाई सदुपयोग गर्दै मन्त्री कुशवाहाले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकासमा सरकार अग्रसर रहेको जानकारी दिए ।

उनले भने, ‘अबका योजना कागजमै सीमित हुने छैनन् । लगानीकर्तालाई आकर्षित गर्ने गरी पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकारले नेतृत्व लिनेछ ।’

कार्यक्रममा मन्त्री कुशवाहाले निजी क्षेत्रबिना रोजगारी सृजना सम्भव नरहेको उल्लेख गर्दै प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिने बताए । उनले होटल तथा पर्यटन व्यवसायी महासंघजस्ता संघसंस्थासँग नियमित संवाद गर्दै नीति निर्माण र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

मधेशमा प्रशस्त श्रमशक्ति, उपजाउ भूमि, सीमावर्ती व्यापारिक अवसर र सांस्कृतिक विविधता रहेको उल्लेख गर्दै मन्त्री कुशवाहाले यिनै सम्भावनालाई उपयोग गर्न सके युवाहरूलाई विदेश जानु पर्ने बाध्यता अन्त्य गर्न सकिने धारणा राखे ।

उनका अनुसार प्रदेश सरकारको आगामी बजेटमै रोजगारी सिर्जनालाई केन्द्रमा राखेर ठूला कार्यक्रम समावेश गरिनेछ ।