जनकपुरधाम, ८ जेठ । मधेश प्रदेश सरकार र सार्वजनिक सेवा प्रसारण नेपालबीच सहकार्य गर्दै जनकपुरधामस्थित मधेश भवनमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनको स्टुडियो सहितको मधेश ब्युरो कार्यालय स्थापना गर्ने औपचारिक सम्झौता सम्पन्न भएको छ ।

प्रदेश सरकारको प्रयोगमा रहेको कवर्ड हलसँगैको चार कोठामा आवश्यक संरचना निर्माण गरी स्टुडियो तयार पारिने छ । यहींँबाट उत्पादन गरिएका विभिन्न कार्यक्रम, समाचार तथा अन्य सामग्रीहरू रेडियो नेपाल बर्दिबास प्रसारण केन्द्र तथा नेपाल टेलिभिजनको इटहरी केन्द्रमार्फत प्रसारण गरिनेछ ।

सम्झौता पत्रमा मधेश प्रदेश सरकारका तर्फबाट गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव विमल प्रसाद बराल र सार्वजनिक सेवा प्रसारण नेपालका तर्फबाट रेडियो नेपाल मधेश प्रदेश बर्दिबास कार्यालयका प्रमुख राम पुकार रामले हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी तथा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री सिंहले रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता राष्ट्रिय सञ्चार संस्थाहरूको ब्युरो कार्यालय जनकपुरधामबाट सञ्चालन हुनु मधेश प्रदेशका लागि गौरवको विषय भएको बताए । उनले भने, ‘यो ब्युरो सरकार र जनताबीच सूचना प्रवाहको पुल बन्नेछ । यसले प्रदेशको गतिविधिलाई देशभर मात्र नभई विश्वभर पुर्याउन मद्दत पुर्याउनेछ ।’

सञ्चार मन्त्रालयसँग सीमित बजेट भए पनि पत्रकारिता तथा सार्वजनिक प्रसारण क्षेत्रलाई सशक्त बनाउन प्रदेश सरकारले आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन गर्ने मुख्यमन्त्री सिंहले प्रतिबद्धता जनाए ।

गृह, सञ्चार तथा कानूनमन्त्री लेखीले रेडियो नेपाल र नेपाल टेलिभिजनको उपस्थिति प्रदेशको आवाजलाई अझ प्रभावकारी ढंगले सार्वजनिक गर्ने अवसर भएको उल्लेख गरे । ‘मधेशका जनताको भावना, आशा र अपेक्षा अब राष्ट्रिय मञ्चमा अझ स्पष्ट ढंगले अभिव्यक्त हुनेछन्,’ उनले भने ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. विष्टले भने, ‘सार्वजनिक प्रसारण संस्था जनताको आवाज हो । यो ब्युरो कार्यालय सरकारका गतिविधिहरूलाई जनतासम्म प्रभावकारी ढंगले पुर्याउने माध्यम बन्नेछ ।’

कार्यक्रममा रेडियो नेपाल मधेश प्रदेशका प्रमुख रामपुकार राम, नेपाल टेलिभिजन इटहरी कार्यालय प्रमुख बसन्त रुपाखेतीले यस पहलले प्रदेशस्तरका समाचार र जनजीवनका विविध पक्षलाई अझ प्रस्ट र नजिकबाट प्रस्तुत गर्न मद्दत गर्ने धारणा राखे ।