प्रेस चौतारीले अन्तर्राष्ट्रिय मिडिया सम्मेलन गर्ने, फणिदेव महत स्मृति पुरस्कार स्थापना

जनकपुरधाम, ८ जेठ । प्रेस चौतारी नेपालले २०८२ साललाई ऐतिहासिक बनाउने तयारी गरेको छ ।
संगठनले यसै वर्ष अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ भने मधेशका दिवंगत वरिष्ठ पत्रकार फणिदेव महतको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको छ ।
बिहीबार महोत्तरीको बर्दिवासमा सम्पन्न प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिको पहिलो बैठकमा बोल्दै संगठनका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले यस्तो घोषणा गरेका हुन् । उनले भने,‘हामी यसपालि अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आयोजना गर्दैछौं । सो सम्मेलन माघ महिनामा चौतारीको स्थापना दिवसको अवसरमा हुनेछ ।’
अध्यक्ष पाण्डेका अनुसार सम्मेलनमा संसारभरका मिडियासम्बन्धी संघसंस्था तथा सञ्चारकर्मीको सहभागिता हुनेछ । यस सम्मेलनले नेपाली मिडिया, विशेषतः मधेशबाट उठेका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय चासो र सम्वादको विषय बनाउने अपेक्षा गरिएको छ ।

बैठकमा मधेशको सञ्चार परिदृश्य र चुनौतिलाई समेट्दै ‘मधेश मिडिया समिट’ आयोजना गर्ने तयारी थाल्ने निर्णय गरिएको छ । साथै पर्सादेखि सप्तरीसम्म मिडियाको अवस्था अवलोकन र सञ्जाल विस्तार गर्न ‘मिडिया यात्रा’ पनि आयोजना गरिने बताइएको छ ।
बैठकमा प्रेस चौतारी मधेश प्रदेशका संस्थापक अध्यक्ष, दिवंगत पत्रकार फणिदेव महतको योगदानलाई स्मरण गर्दै ‘फणिदेव महत स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गरिएको छ ।
यस पुरस्कारको बारेमा जानकारी दिँदै चौतारीका मधेश प्रदेश अध्यक्ष लालबाबु शेषले भने,‘यो पुरस्कार हरेक वर्ष मधेशका जनसरोकारका विषयमा कलम चलाउने पत्रकारलाई प्रदान गरिनेछ । पुरस्कारमा कदरपत्रसहित २५ हजार नगद समावेश हुनेछ र यसको लागि विशेष कोष गठन गरिनेछ ।’

संगठनले २०८२ साललाई प्रशिक्षण वर्षका रूपमा मनाउने घोषणा पनि गरेको छ । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारी र महासचिव हिरामान लामाले मातहत सबै समितिहरूलाई प्रशिक्षित, सचेत र सशक्त पत्रकार निर्माणमा ध्यान केन्द्रित गर्न अपिल गरे । उनीहरूले भने, ‘सामाजिक सञ्जालको विकृति र अनुत्तरदायी पत्रकारिताका बीच जिम्मेवार र मूल्यमा आधारित पत्रकारिताको पक्षमा हाम्रो अभियान २०८२ मा अझ सशक्त हुनेछ ।’
बैठकमा नेपाल पत्रकार महासंघको केन्द्रीय लेखा समितिका संयोजक केसी लामिछाने, महासंघ मधेश प्रदेश अध्यक्ष श्याम वञ्जारासहित चौतारीका मधेश प्रदेशभित्रका केन्द्रीय सदस्यहरूको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


