जनकपुरधाम, ८ जेठ । जनकपुरधामका ऐतिहासिक तथा धार्मिक स्थलहरूको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय नागरिक समाजले भारत सरकारसमक्ष औपचारिक अपिल गरेका छन् ।

नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रद्वारा भारत सरकारको महावाणिज्य दूतावास वीरगंज र काठमाडौँस्थित भारतीय राजदूतावासलाई समर्पित उक्त अपिलमा जनकपुरधाम र वरपरका पवित्र स्थलमा बढ्दो अतिक्रमण, अपवित्रता र लापरवाहीप्रति चिन्ता व्यक्त गरिएको छ ।

अपिलमा जनकपुरधामस्थित जानकी फुलबारी, ५२ कुटी, ७२ कुण्ड र अन्य मठ–मन्दिरमा भइरहेको अतिक्रमण, मासु–मदिरा सेवन, फोहोरमैला व्यवस्थापनको अभाव र धार्मिक मर्यादा विपरीतका गतिविधिप्रति आपत्ति जनाइएको छ । नागरिक समाजले भारत सरकारसँग पाँचवटा बुँदामा विशेष ध्यान दिन माग गरेको छ ।

१. अवैध अतिक्रमण रोक्न आग्रह
जनकपुरधामका प्राचीन स्थलहरूमा अनधिकृत निर्माण र व्यावसायिक क्रियाकलापले धार्मिक वातावरण प्रदूषित भएको भन्दै भारत सरकारलाई नेपाल सरकारसँग सहकार्य गरी ती अतिक्रमण रोक्न आग्रह गरिएको छ ।

२. मासु–मदिरा निषेधमा सहयोग
मठ–मन्दिर, विद्यालय र अस्पताल क्षेत्र वरपरको धार्मिक मर्यादालाई ख्याल नगरी गरिने मासु र मदिरा सेवनजस्ता गतिविधिलाई रोक्न द्विपक्षीय स्तरमा कडा नीति निर्माण र कार्यान्वयनमा भारत सरकारको भूमिका मागिएको छ ।

३. फोहोर व्यवस्थापन प्रणाली स्थापना
धार्मिक स्थल वरपरको सफाइ र फोहोरमैला व्यवस्थापनको अभावका कारण जनकपुरधामको स्वच्छता गम्भीर समस्याको रूपमा देखिएको भन्दै भारत सरकारलाई दिगो व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरिएको छ ।

४. सांस्कृतिक सम्पदा प्रवद्र्धनमा सहकार्य
अयोध्या र जनकपुरधामलाई साझा धार्मिक सम्पदा मानी धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउन भारत सरकारको सक्रिय भूमिका आवश्यक रहेको नागरिक समाजको भनाइ छ ।

५. नेपाल–भारत सहकार्य सुदृढीकरण
सांस्कृतिक संरक्षणका विषयमा भारत र नेपाल सरकारबीच द्विपक्षीय सहकार्य बलियो बनाउनेतर्फ विशेष आग्रह गरिएको छ ।

नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले भने, ‘जनकपुरधाम न केवल नेपालीहरूको आस्था हो । यो सम्पूर्ण भारतीय उपमहाद्वीपका हिन्दूहरूको साझा धार्मिक केन्द्र हो । आज यी पवित्र स्थलहरू अपवित्रताको चपेटामा छन् । यो हाम्रो साझा धरोहर हो । यसको संरक्षण हाम्रो साझा कर्तव्य हो ।’

उनले जनकपुरधामको धार्मिक गरिमा बचाउन भारत सरकारलाई अब कूटनीतिक रूपमा पनि सक्रिय भूमिका लिनुपर्ने बताउँदै नेपाली पक्षलाई पनि कडाइका साथ यस्ता गतिविधि नियन्त्रण गर्न प्रेरित गरिदिन अपिल गरे ।