अन्धकारभित्रको अपराध : घरभित्रै हत्या, ढलानमुनी शव, शिशु अझै बेपत्ता

जनकपुरधाम, ८ जेठ । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–५ मा करिब तीन महिनाअघि भएको एक निर्मम हत्या घटनाले घरेलु हिंसा र पारिवारिक अपराधप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । आफ्नै २५ वर्षीया श्रीमतीको हत्या गरेर फरार रहेका ४० वर्षीय हरिराम यादवलाई प्रहरीले अन्ततः पक्राउ गरेको छ ।
हत्या गरिएको तीन महिनापछि जनकनन्दिनी गाउँपालिका–४ स्थित भारत सिमानासँग जोडिएको खजुरी रेलवे स्टेशनबाट बिहीबार बिहान ९ बजे पक्राउ परेका यादवमाथि श्रीमतीको हत्या, शव लुकाउने, प्रमाण नष्ट गर्ने र १० महिनाकी आफ्नै छोरीको अपहरणको आरोप लागेको छ ।
प्रहरीका अनुसार गत चैत १७ गते दिउँसो करिब १ बजे यादवले घरेलु विवादको क्रममा श्रीमती अञ्जली यादवलाई कुटपिट गरी हत्या गरेका थिए । त्यसपछि उनले शवलाई आफ्नै घरको कुलदेवता राखिएको कोठामा खाल्डो खनेर गाडेका थिए । घटनालाई लुकाउन उनले सो स्थानमा नयाँ ढलानसमेत गरेका थिए ।
प्रहरी उपरीक्षक नरहरी रेग्मीका अनुसार हत्या पश्चात यादव भारततर्फ फरार भएका थिए । उनीसँगै १० महिनाकी छोरी पनि हराइरहेकी छिन् । ‘पक्राउ परेका यादवले शिशुबारे जानकारी दिन नमानेकाले बालिकाको अवस्था अझै अज्ञात छ,’ रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
हत्या भएको केही दिनसम्म अञ्जलीको अत्तोपत्तो नलागेपछि उनको परिवारले प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त अनुसन्धान टोली खटिएको थियो । अनुसन्धानका क्रममा घरको एक कोठामा नयाँ ढलान गरिएको शंका लागेपछि ढलान फोरेर खोजी गर्दा करिब २ फिट गहिराइमा नग्न अवस्थामा अञ्जलीको शव भेटिएको थियो ।
शव गन्हाउन थालेपछि स्थानीय बासिन्दाले समेत प्रहरीमा शंका व्यक्त गरेका थिए । शव भेटिएको जानकारी सार्वजनिक भएलगत्तै स्थानीय समुदाय स्तब्ध र आक्रोशित बनेको छ ।
अञ्जलीका आफन्तहरूले हरिराममाथि कडा कानुनी कारबाहीको माग गरेका छन् । साथै, अपहृत शिशु सुरक्षित रहेको पुष्टि गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन् । प्रहरीले हरिराममाथि ज्यान मार्ने, शव लुकाउने, प्रमाण नष्ट गर्ने र बाल अपहरणजस्ता आपराधिक मुद्दाहरू दर्ता गरेको छ ।
प्रहरीले घटनालाई गम्भीर आपराधिक प्रकृति अन्तर्गत वर्गीकृत गर्दै फरेन्सिक परीक्षण, प्रत्यक्षदर्शीको बयान र अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


