जनकपुरधाम, ८ जेठ । चुरे क्षेत्रको विनाश र वनजंगलमा भइरहेको अनियमितताविरुद्ध उठेको जनदबाबपछि मधेश प्रदेश सरकारले निर्णायक कदम चालेको छ । चुरे तथा वनजङ्गल संरक्षण अभियानले प्रदेश सरकारका उच्च पदाधिकारीहरूमाथि उठाएको आरोपपछि मुख्यमन्त्री सतिश कुमार सिंहले वनमन्त्रीसहित सम्बन्धित निकायका अधिकारीहरूका विरुद्धमा कारबाही प्रक्रिया सुरु गरेका हुन् ।

वैशाख २१ गते चुरे तथा वनजङ्गल संरक्षण अभियानले मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाउँदै मधेशका वनमन्त्री, सचिव र रौतहट डिभिजन वन कार्यालय प्रमुखविरुद्ध चुरे दोहनमा संलग्न रहेको भन्दै तत्काल राजीनामाको माग गरेको थियो । अभियानले विगत केही महिनायता चुरे दोहन विरुद्ध रौतहटदेखि जनकपुरसम्म विभिन्न विरोध प्रदर्शन, सार्वजनिक सुनुवाइ र सामाजिक सञ्जालमा जनजागरण कार्यक्रम गर्दै आएको थियो ।

चुरे विनाश र वन क्षेत्रमा गम्भीर अनियमितता भएको आरोप लगाउँदै जनदबाब तीव्र बनेपछि मुख्यमन्त्री सिंहले पार्टीको निर्देशनअनुसार तत्कालीन वनमन्त्रीलाई पदमुक्त गरेका छन् । उनीहरूको स्थानमा नयाँ वनमन्त्रीको रूपमा जनमत पार्टीका सञ्जय यादवलाई नियुक्त गरिएको छ ।

चुरे तथा वनजङ्गल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले जनमत पार्टी र मुख्यमन्त्री सिंहप्रति आभार व्यक्त गर्दै नयाँ वनमन्त्री यादवलाई बधाई दिएका छन् । साथै, उनले चुरे संरक्षणको मुद्दाप्रति संवेदनशील भई आगामी दिनमा पारदर्शी, जिम्मेवार र दीर्घकालीन नीति ल्याउन आग्रह गरेका छन् ।

संरक्षण अभियानले अबको नेतृत्वले चुरे क्षेत्रको पर्यावरणीय, सामाजिक र जैविक महत्व बुझ्दै वन क्षेत्रको दिगो व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने आशा व्यक्त गरेको छ । अभियानले राजनीतिक नेतृत्व, सरकारी संयन्त्र र नागरिक समाजबीच समन्वयमार्फत चुरे संरक्षणको लागि दीर्घकालीन रणनीति आवश्यक रहेको बताएको छ ।

स्मरण रहोस्, चुरे क्षेत्रमा व्यापक दोहन, ढुंगा गिट्टी उत्खनन, अवैध ढुवानी र वन विनाशका कारण मधेश प्रदेशमा जलवायु परिवर्तन, बाढी, सुख्खा र भूक्षयका समस्या झनै गहिरिँदै गएका छन् ।