दुधमती नदी किनारमा वृक्षारोपण, जैविक विविधता संरक्षणमा स्थानीयको सहभागिता

जनकपुरधाम, ८ जेठ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा जनकपुरधामस्थित ऐतिहासिक र धार्मिक महत्वको दुधमती नदी किनार क्षेत्र वृक्षारोपण कार्यक्रममार्फत हरियालीतर्फ अघि बढाइएको छ ।
डिभिजन वन कार्यालय धनुषा र दुधमती नदी सरोकार समाजको संयुक्त पहलमा बिहीबार सम्पन्न वृक्षारोपण कार्यक्रममा सरकारी निकाय, नागरिक समाजका प्रतिनिधि र विभिन्न क्षेत्रका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्देश्य केवल रुख रोप्ने मात्र नभई दुधमती नदीको पर्यावरणीय, धार्मिक, सांस्कृतिक तथा जैविक महत्वलाई पुनःस्थापित गर्नु रहेको आयोजकहरूले जनाएका छन् । कार्यक्रममा डिभिजन वन अधिकृत विनोद सिंह र वन अधिकृत सुरेश शर्माले जैविक विविधताको संरक्षण मानव अस्तित्वकै आधार भएकाले समुदायको सक्रियतामार्फत दिगो समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए ।

जनकपुरधाम उपमहानगरपालिका–१७ का वडाध्यक्ष विमलेश मिश्र, दुधमती सरोकार समाजका पदाधिकारी, एकल श्रीहरि नेपालका अध्यक्ष कमचन्द सरल, भारत–नेपालका सह–सञ्चालक खेमानन्द सापकोटा, होटल वेलकमका सञ्चालक विजय झुनझुनवला, वन अधिकृत अनिल साह, नागेश्वर यादव लगायत सामाजिक अभियानीहरूको उपस्थिति रहेको कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको थियो ।
वक्ताहरूले दुधमती नदीको विगतमा रहेको धार्मिक गरिमा र वर्तमानमा देखिएको प्रदूषणबारे चिन्ता व्यक्त गर्दै संरक्षणमा स्थानीय तह र समुदायको भूमिकालाई निर्णायक माने । उनीहरूले नदी किनारलाई हरियालीयुक्त, स्वच्छ र आकर्षक बनाउँदै जैविक विविधताको पुनः स्थापनाले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी अभियन्ताहरूले नदी क्षेत्र सफाइ, वृक्षारोपण, जनचेतना अभिवृद्धि र कानुनी संरक्षणको संयोजनमार्फत मात्रै दुधमती जस्ता महत्वपूर्ण प्राकृतिक सम्पदाको संरक्षण सम्भव हुनेमा जोड दिए ।
डिभिजन वन कार्यालयका अनुसार आगामी दिनमा दुधमती नदी आसपासका क्षेत्रहरूमा थप वृक्षारोपण, पर्यावरणीय सचेतना कार्यक्रम र दीर्घकालीन संरक्षण योजनाहरू कार्यान्वयनमा ल्याइनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


