जनकपुरधाम, ७ जेठ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य हृदयराज मिश्रलाई संगठनको कानुन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले औपचारिक पत्र हस्तान्तरण गर्दै मिश्रलाई यो महत्वपूर्ण भूमिका सुम्पिएका हुन् ।

नेविसंघमा लामो समयदेखि सक्रिय रूपमा योगदान दिँदै आएका मिश्र विद्यार्थी अधिकार, समावेशी शिक्षा नीति र कानुनी सचेतनाका क्षेत्रमा स्पष्ट विचार, स्थिर नेतृत्व र समर्पित सक्रियता लिएर परिचित छन् । कानुन विभाग प्रमुखको रूपमा उनले अब संघभित्र नीति निर्माण, कानुनी प्रशिक्षण र विधिसम्मत नेतृत्व विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

शेर्पाद्वारा सम्पन्न नियुक्ति कार्यक्रममा केन्द्रीय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित नेताहरूले मिश्रको नीति विश्लेषण क्षमता र सांगठनिक निष्ठाको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी योगदानको अपेक्षा व्यक्त गरेका थिए ।

मिश्रले विगतमा पनि शिक्षा प्रणालीमा सुधार, विद्यार्थीको हकहितका लागि कानुनी हस्तक्षेप र चेतनामूलक कार्यक्रमहरू सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले न्यायिक समानताको विषयमा विद्यार्थी समाजमा बहस चलाउने, संगठनका निर्णयहरूलाई कानुनी दृष्टिकोणबाट व्यवस्थापन गर्ने र कानुन विभागलाई एक सशक्त थिंक ट्यांकको रूपमा विकास गर्ने योजना बनाएका छन् ।

जिम्मेवारी प्राप्त भएपछि मिश्रलाई विभिन्न राजनीतिक दलका नेता, कानुन व्यवसायी, प्राध्यापक, विद्यार्थी नेता र सामाजिक अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका छन् । धेरैले मिश्रको नियुक्तिलाई ‘सही समयको सही निर्णय’ भन्दै स्वागत गरेका छन् ।