जनकपुरधाम, ७ जेठ । सिरहा जिल्लाकी रितु साहले मायाको गहिरो भावनालाई केवल शब्दमा मात्र नभई कर्ममै उतारेर असल जीवनसाथीको प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन् । लहान नगरपालिका–२४ की रितुले आफ्ना श्रीमान् मौजे साहलाई जीवनदान दिन आफ्नै मिर्गौला दान गरेर नारीको निःस्वार्थ प्रेम र समर्पणको अनुपम मिसाल कायम गरेकी हुन् ।

मिर्गौला फेल भएर लामो समयदेखि जीवन र मृत्युको दोसाँधमा रहेका मौजे साहको बुधबार काठमाडौंस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफल प्रत्यारोपण गरिएको हो । चिकित्सकहरूका अनुसार प्रत्यारोपण सफल भएको छ । अहिले दुवैको स्वास्थ्य अवस्था स्थिर छ।

मौजेको दुवै मिर्गौला विफल भएपछि उनी विगत नौ महिनादेखि नियमित डायलसिस गराइरहेका थिए । तर, साह परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा ठूलो कठिनाइ परेको थियो । यस अवस्थामा गाउँले, छिमेकी, पुराना साथीभाइ र सामाजिक अभियन्ताहरूको पहलमा आर्थिक संकलन गरिएको थियो । समाजले देखाएको एकता र सहकार्यकै कारण मिर्गौला प्रत्यारोपण सम्भव भएको मौजेले बताएका छन् ।

श्रीमानको पीडालाई आफ्नै पीडा ठानेकी रितुले उनलाई नयाँ जीवन दिन कुनै हिचकिचाहट नगरी एउटा मिर्गौला दान गरिन् । उनका अनुसार, ‘जीवनभर सँगै बाँच्ने वाचा गरेका छौं, त्यसैले म उनको दुःखमा चुप बस्न सक्दिनथें ।’

प्रत्यारोपणपछि चिकित्सकहरूले दुवैको स्वास्थ्य अवस्थामाथि निगरानी गरिरहेका छन् । सफल सर्जरीपछि अब मौजे साहलाई नियमित औषधि सेवन, पोषणयुक्त खाना र संयमित जीवनशैलीमा राख्नुपर्ने परिवारले जनाएको छ । साथै, पछिल्लो जीवनमा संक्रमण र जटिलता नहोस् भनेर स्वास्थ्य अनुशासनमा कडाइ अपनाउने तयारी गरिएको छ ।

साह परिवारले उपचार खर्च जुटाउन सक्ने अवस्था नरहेका बेला समुदायका विभिन्न पक्ष एकजुट भएर सहयोगमा जुट्नुले समाजमा अझै पनि मानवता बाँकी रहेको सन्देश दिएको छ । स्थानीय स्वयंसेवीहरू, पत्रकार, सामाजिक अभियन्ता र युवाहरूको सक्रियताले आवश्यक रकम संकलन भएको थियो ।