जनकपुरधाम, ७ जेठ । सिरहा जिल्लाको लहान नगरपालिका–७ स्थित शिलान्यास भइसकेको स्थलमै डा. भीमराव अम्बेडकर पार्क निर्माण गर्न चमार समुदायका अगुवा तथा संघसंस्थाहरूले माग गरेका छन् ।

बुधबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेट्दै उनीहरूले औपचारिक रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा लहान–७ को सलहेस फूलबारी नजिक रहेको १० धुर सार्वजनिक जमिनमा अम्बेडकर पार्क निर्माण गर्ने पूर्वनिर्धारित योजनालाई कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरिएको छ । सो स्थानमा औपचारिक शिलान्यास भइसकेको भए पनि राजनीतिक दबाबका कारण निर्माण प्रक्रिया रोकिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

ज्ञापनपत्रमा पासवान समुदायका केही नेताहरूको विरोधकै कारण बहुसंख्यक दलित समुदायको मागलाई बेवास्ता गरिएको गुनासो गरिएको छ । ‘कसैको व्यक्तिगत वा वर्गीय असहमतिको आधारमा सम्पूर्ण समुदायको अधिकार कुन्ठित गरिनु अन्याय हो,’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा चमार समुदायका डा. काशीन्द्र महरा चमारले पार्क निर्माणका लागि आवश्यक परे थप दुई कट्ठा निजी जग्गा सरकारलाई निःशुल्क दिने लिखित प्रस्ताव समेत राखिएको छ । ‘पार्क निर्माणको काम जग्गाको अभावमा रोकिनु नपरोस् भन्ने हाम्रो चाहना हो,’ महरा चमारले भने ।

ज्ञापनपत्रमा निर्माण हुन लागेको अम्बेडकर पार्कलाई केवल चमार समुदायको गौरवको विषय मात्र नभई सबै दलित समुदायका साझा नेतृत्व र प्रेरणाका स्रोतहरूको स्मृति स्थलका रूपमा विकास गर्न प्रस्ताव गरिएको छ । पार्कमा चमार समुदायका गुरु रविदास, मुसहर समुदायका दीनाभद्री र राजा सलहेसको समेत शालिक राख्नुपर्ने माग गरिएको छ ।

प्रदेश सरकारले बजेट नछुट्याए चन्दाबाट भए पनि पार्क निर्माण अगाडि बढाउने चेतावनी ज्ञापनपत्रमा दिइएको छ । उनीहरूले यस विषयमा दलित समुदायका युवाहरू, अगुवा र संघसंस्थाहरूबीच पूर्ण सहमति भएको जनाएका छन् ।

ज्ञापनपत्रमा अम्बेडकर पार्क निर्माण बाहेक दलित समुदायसँग सम्बन्धित अन्य आठ महत्वपूर्ण मागहरू पनि समावेश गरिएको छ । तीमध्ये दलित विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति विस्तार, दलित बस्तीमा आधारभूत पूर्वाधारको विकास, रोजगारीका लागि सीपमूलक तालिम तथा आर्थिक अनुदानको व्यवस्था, जातीय भेदभावविरुद्ध कडा कानुनी कार्यान्वयन र दलित कल्याणका लागि छुट्टै मन्त्रालय गठनजस्ता मागहरू उल्लेख छन् ।

ज्ञापनपत्रमा चमार कल्याण समाज नेपालका अध्यक्ष दिनेश चमारसहित विभिन्न दलित संघसंस्थाका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ । मुख्यमन्त्री सिंहले ज्ञापनपत्र बुझ्दै समुदायको आवाजलाई बेवास्ता नगरिने र उचित छलफलपछि आवश्यक निर्णय लिइने आश्वासन दिएका छन् ।