चारनाथ सामुदायिक वनमा अवैध अतिक्रमण हटाइयो

जनकपुरधाम, ७ जेठ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ मा अवैध रूपमा अतिक्रमण गरी बनाइएका संरचनामाथि कारबाही गर्दै डिभिजन वन कार्यालय धनुषाले नौवटा घरटहरा हटाएको छ ।
करिब तीन हेक्टरभन्दा बढी वनजमिन पुनः संरक्षणको दायरामा ल्याइएको हो । डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहका अनुसार चारनाथ सामुदायिक वन क्षेत्रभित्र अनाधिकृत रूपमा संरचना निर्माण गरेर जमिनलाई निजी उपयोगमा ल्याउने प्रयास भएपछि तत्काल कारबाही गरिएको हो ।
‘वनक्षेत्र कब्जा गर्ने नियतले निर्माण गरिएका घरटहरा हटाएका छौं । अन्य अतिक्रमित भू–भाग पनि चरणबद्ध रूपमा खाली गरिनेछ,’ सिंहले भने । कमला सब डिभिजन वन कार्यालयका अधिकृत भगलु मण्डल, जिल्ला वन सुरक्षा टोलीका कमाण्डर वैजनाथ सिंहको नेतृत्वमा गरिएको कारबाहीमा जनपद प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटिएको थियो ।
स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला निकायको समन्वयमा अतिक्रमणविरुद्धको अभियान सञ्चालन गरिएको हो । डिभिजन वन कार्यालयले भविष्यमा पनि वनक्षेत्र अतिक्रमण गर्ने कार्यलाई कडाइका साथ नियन्त्रण गर्ने चेतावनी दिएको छ । प्रमुख सिंहले भने, ‘वनजमिन सार्वजनिक सम्पत्ति हो । यसलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो । अतिक्रमणलाई कुनै हालतमा सहन गरिने छैन ।’
धनुषा जिल्लामा सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रका विभिन्न भू–भागमा अतिक्रमण हुँदै आएकोमा अब ती क्षेत्रको पहिचान गरी क्रमिक रूपमा फिर्ता लिने अभियानलाई वन कार्यालयले तीव्रता दिएको छ । सिंहका अनुसार केही स्थानमा राजनीतिक संरक्षण वा स्थानीय प्रभावका कारण अतिक्रमण टिकिरहे पनि अब त्यसप्रति कडाइ अपनाइनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


