जनकपुरधाम, ७ जेठ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम जेठ १५ लगत्तै सार्वजनिक गर्ने तयारी गरेको छ ।

गृह, सञ्चार तथा कानून मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखीले बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार नीति तथा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । बजेट निर्माणमा सञ्चार क्षेत्र र शहीद परिवारको सम्मान तथा सशक्तिकरणलाई प्राथमिकतामा राखिएको उनले बताए ।

मन्त्री लेखीले पत्रकार सम्मेलनमा शहीदहरूलाई सम्झन केवल समारोह र भाषणमा सीमित रहनु नहुने स्पष्ट पारे । ‘एक दिनको नाचगान र भोजभतेरले शहीदको सम्मान हुँदैन । उनीहरूको सपना पूरा गर्ने हो भने परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ,’ मन्त्री लेखीले भने ।

उनले चालु आर्थिक वर्षमा शहीदका सन्तानहरूलाई छात्रवृत्तिका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको र आगामी वर्षमा सीपमूलक तालिमका लागि ८० लाख रुपैयाँ छुट्याइने जानकारी दिए । ‘सिलाइ, ब्यूटी पार्लर तालिमसँगै आवश्यक उपकरणहरू पनि प्रदान गरिनेछ,’ उनले थपे ।

मन्त्री लेखीले सञ्चार मन्त्रालय विगतका बजेटमा उपेक्षित हुँदै आएको गुनासो गर्दै यसपटक प्राथमिकतामा राखिएको बताए । उनले पत्रकारहरूको सुरक्षालाई ध्यानमा राख्दै पत्रकार बीमालाई जीवन बीमामा रूपान्तरण गर्ने तयारी गरिएको बताए । साथै, मधेश प्रदेशका ज्येष्ठ पत्रकारहरूको सम्मान कार्यक्रम छिट्टै आयोजना गरिने जानकारी पनि दिए ।

प्रवक्ता लेखीका अनुसार पत्रकार सम्मेलनको उद्देश्य केवल जानकारी दिनु मात्र नभएर पत्रकारहरूसँग प्रत्यक्ष संवाद गरी नीति तथा कार्यक्रमको मस्यौदा सुदृढ बनाउनु पनि हो । ‘सञ्चारकर्मीहरूको सुझाव र सरोकार समेटेर मन्त्रालयको नीति तयार गरिने छ,’ उनले भने ।

मन्त्री लेखीले मधेश प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका संरचना कमजोर रहेको स्वीकार गर्दै तिनको सुदृढीकरण र नयाँ पूर्वाधार विकासमा बजेट विनियोजन गरिने जानकारी दिए ।

‘शान्ति सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता हो । संरचना सुधारका लागि संघ सरकारसँग समन्वय गरेर काम अगाडि बढाइनेछ,’ उनको भनाइ थियो ।