मुख्यमन्त्री सिंहले भने, ‘कृषि विद्युतीकरण र स्टार्टअपमार्फत मधेश समृद्धिको बाटोमा जान्छ’

जनकपुरधाम, ७ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारलाई कृषि आधुनिकीकरण, स्टार्टअप प्रवद्र्धन र नीति सुधारमार्फत आर्थिक समृद्धिको दिशामा अग्रसर बनाउने प्रतिबद्धता जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशद्वारा जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले कृषिमा विद्युतीकरण र सिँचाइ व्यवस्थापनलाई प्राथमिकता दिइएको स्पष्ट पारे ।
उनका अनुसार अधिकांश स्थानीय तहहरूलाई अनुदान प्रदान गरी कृषि यान्त्रीकरण, सिँचाइ सुविधा र मलजलका पूर्वाधार विस्तारमा सहयोग पुर्याइएको छ । ‘स्थानीय सरकारहरूलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन अनुदान कार्यक्रम सञ्चालन गरिएको छ । यसले उत्पादन वृद्धिमा सघाउ पुर्याउनेछ,’ मुख्यमन्त्री सिंहले भने । मुख्यमन्त्री सिंहले स्टार्टअप प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमै कार्यविधि तयार भए पनि बैंकहरूको असहयोगका कारण कार्यक्रम प्रभावित भएको बताए ।
यस समस्यालाई सम्बोधन गर्न प्रदेश सरकारले वीरगंजमा स्टार्टअप तथा इन्क्यूवेसन सेन्टर स्थापना गर्न आगामी बजेटमा विशेष विनियोजन गर्ने घोषणा गरे । ‘बैंकहरूको ढिलासुस्तीले उद्यमीहरू हतोत्साहित भएका छन् । अब प्रदेश सरकार आफैं स्टार्टअपलाई सशक्त बनाउने योजना लिएर आएको छ,’ उनको भनाइ थियो ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकार आर्थिक क्षेत्रमा नीतिगत स्पष्टता, सुशासन र संघीय सरकारसँगको समन्वयमार्फत सुधार ल्याउने प्रयासमा रहेको उल्लेख गरे । ‘प्रदेशको राजस्व संकलनमा हस्तक्षेप गर्न खोजिए पनि प्रभावकारिता देखिएको छैन । अब संघ सरकारसँग समन्वय गरी यसलाई व्यवस्थित गरिनेछ,’ उनले भने । मुख्यमन्त्री सिंहले सेतो अण्डाको आयातमा रोक लगाई स्थानीय उत्पादनमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकारले पहल थालेको जानकारी दिए । साथै, भारतीय पर्यटकहरूको आगमनलाई सहज बनाउन भारतीय नम्बर प्लेट भएका सवारीसाधनको प्रवेश प्रक्रिया सरल बनाइने जनाए ।
कार्यक्रममा वीरगंजका दुई क्यासिनोले स्थानीय समुदायमा पारिरहेको नकारात्मक असरबारे मुख्यमन्त्री सिंहले चासो व्यक्त गरे । ‘क्यासिनोले नेपाली नागरिकलाई बिनाशतर्फ धकेलिरहेको छ । यदि आवश्यक परे बन्द गर्नुपर्ने हुन्छ,’ उनले भने । कार्यक्रममा महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले मधेश प्रदेश अन्य प्रदेशको तुलनामा आर्थिक सूचकाङ्कमा पछि परेको उल्लेख गर्दै बजेट कार्यान्वयनको गति सुस्त रहेको गुनासो गरे । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले स्थिर आर्थिक नीति, कानुनी संरचना र लगानीमैत्री वातावरणको खाँचो औँल्याए ।
आर्थिक अभियान दैनिकका ओमप्रसाद खनालले ‘मधेश समृद्धि शृंखला’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै मधेशको वर्तमान आर्थिक अवस्था, चुनौती र सम्भावनाको विश्लेषण गरेका थिए । कार्यक्रममा प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव, उद्योग तथा पर्यटन मन्त्री सकिल मियाँ, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहसहित विभिन्न उद्योगी, व्यवसायीको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


