भारततर्फ ओसार्दै गरिएको १४२ किलो गाँजासहित युवक पक्राउ

सर्लाही, ६ जेठ । सर्लाहीको लालबन्दी नगरपालिका–१२ स्थित डाइने खोला क्षेत्रमा भारततर्फ अवैध गाँजा ओसारपसार हुँदै गरेको सूचना पाएपछि प्रहरीले सोही स्थानबाट १४२ किलोभन्दा बढी गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट भारतिय नम्बर प्लेटको स्कार्पियो गाडी र एक पल्सर मोटरसाइकलसमेत बरामद गरिएको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको नेतृत्वमा खटिएको टोलीले उक्त स्थानमा निगरानी राखेको थियो । अनुसन्धानका क्रममा भारतीय नम्बर प्लेटको सेतो स्कार्पियो (बीआर ३० पीए ३९५३) र कालो रंगको पल्सर मोटरसाइकल देखिएपछि प्रहरीले शंका गर्दै नजिकिएसँगै सवारी चालकहरू फरार हुन थाले ।
प्रहरीको सतर्कताका कारण लालबन्दी नगरपालिका–१२ का २८ वर्षीय सोमबहादुर तामाङलाई घटनास्थलमै नियन्त्रणमा लिन सफल भयो । प्रारम्भिक सोधपुछमा तामाङले आफूहरू भारततर्फ गाँजा लैजाँदै गरेको स्वीकार गरेका थिए ।
पक्राउ परेपछि स्कार्पियो गाडीको तलासी लिँदा गाडीको पछाडिको डिक्कीमा लुकाइएको ९ वटा पोका फेला परेका थिए । ती पोका रातो प्लास्टिकमा प्याक गरिएको अवस्थामा थिए । खोलेर जाँच गर्दा ती सबै पोका गाँजा भएको पुष्टि भएपछि प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा तौल गर्दा कुल १४२.६ किलोग्राम गाँजा बरामद भएको जनाएको छ ।
प्रहरी स्रोतका अनुसार बरामद गाँजा भारत सीमातर्फ लैजाने तयारी थियो । प्रहरीले बरामद सामग्रीसहित सोमबहादुर तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।
सर्लाही जिल्ला अदालतबाट ९ दिनको म्याद थप गरी उनलाई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेर अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


