सर्लाहीको बलरामा करेन्ट लागेर पुजारीको मृत्यु

सर्लाही, ६ जेठ । सर्लाहीको बलरा नगरपालिकामा करेन्ट लागेर एक वृद्ध पुजारीको ज्यान गएको छ ।
बलरा नगरपालिका–५ स्थित महतो टोलमा स्थानीय विजय महतोको घरमा पूजा गर्न गएका ७० वर्षीय महादेव महतोको मंगलबार दिउँसो करिब २ः४५ बजे करेन्ट लागेर घटनास्थलमै गम्भीर घाइते भएका थिए । उपचारका क्रममा अस्पतालमा उनको ज्यान गएको हो ।
मृतक महतो सर्लाहीकै गोडैता गाउँपालिका–२ का स्थायी बासिन्दा थिए । उनी धार्मिक कार्यमा अनुभवी र पुजापाठका लागि विभिन्न ठाउँमा आमन्त्रित हुने व्यक्तिका रूपमा चिनिन्थे । विजय महतोको घरमा विशेष पूजाको कार्यक्रमका लागि बोलाइएका उनी अनिष्टपूर्ण दुर्घटनामा परेपछि स्थानीयवासी स्तब्ध छन् ।
पूजा गर्नुअघि महतोले हातमुख धुन पानी लिन खोज्दा घरमा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट प्रवाह भइ उनी त्यसको चपेटामा परेका थिए । घरभित्र जडित मोटरमा सम्भवतः विद्युत् सुरक्षा प्रवन्धको कमजोरीका कारण करेन्ट प्रवाह भइरहेको अवस्थामा उनले पानी समात्ने प्रयास गर्दा विद्युतीय झट्का खाएका थिए ।
त्यसपछि स्थानीयहरूले तत्काल उनलाई नजिकैको प्रादेशिक अस्पताल मलंगवा पुर्याएका थिए । तर, अस्पताल पुगेपछि ३ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे । मृतकको शव हाल अस्पतालमै राखिएको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


