बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, दर्जनौं योजना अपूरो

जनकपुरधाम, ६ जेठ । धनुषाको बटेश्वर गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेर दर्जनौं विकास योजनामा अनियमितता भएको प्रारम्भिक संकेतसहित महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ ।
बर्दिबासस्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट खटिएको छानबिन टोलीले गत साता गाउँपालिकाको प्रशासनिक भवनमै पुगेर चार घण्टा लामो प्रयासपछि दराज खोल्न सफल भएको हो । दराजमा योजनासम्बन्धी फाइलहरू थुनिएको अवस्थामा भेटिएको थियो ।
अख्तियार स्रोतका अनुसार विगत लामो समयदेखि बटेश्वर गाउँपालिकामा दर्जनौं योजनाको फाइल र जानकारी माग गरिए पनि पालिकाले जवाफ नदिँदा बाध्य भएर टोली आफैं स्थलगत अनुगमनमा पुगेको हो । टोलीले फाइल माग्दा कर्मचारीहरूले त्यसको चाबी तत्काल नदिने अडान राखे । ती दराजहरूको साँचो भ्रष्टाचारसम्बन्धी मुद्दामा मुछिएर हाल निलम्बनमा परेका लेखा अधिकृत सुमन पुरी सँग रहेको जनाउँदै कर्मचारीहरू पछि हटे । अख्तियारले चेतावनी दिएपछि मात्र दराज खोलिएको थियो ।
नियन्त्रणमा लिइएका कागजातहरूमा महादेव मन्दिर निर्माण, लक्ष्मी मावि भवन, जनप्रिय मावि भवन, प्रशासनिक भवन, पीसीसी सडक ढलान र सार्वजनिक दलान लगायतका धेरै योजनाहरू रहेका छन् । तीमध्ये अधिकांश योजना आर्थिक वर्ष २०७८/७९ को अन्त्यतिर तत्कालीन अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको कार्यकालको अन्तिम चरणमा हतारमा सुरु गरिएको पाइएको छ । प्रारम्भिक विवरणअनुसार योजना सम्झौतामा कानुनी प्रक्रिया बेवास्ता गरिएको, निर्माण अपूरा छाडिएको र धेरै स्थानमा गुणस्तरहीन काम गरिएको पुष्टि भएको छ ।
उक्त योजनाहरूको जिम्मा रौतहटको आर्यन कन्ट्रक्सनलाई दिइएको थियो । अख्तियारको अनुसन्धानमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी र लेखा अधिकृत सुमन पुरीबीच आपसी मिलेमतोमा ठेक्काको प्रक्रिया अघि बढाइएको आरोप लागेका छन् । अझ गम्भीर कुरा त के छ भने गाउँपालिकाका स्थायी इन्जिनियर जितेन्द्र यादवलाई बाइपास गर्दै बर्दिबासबाट करारमा ल्याइएका इन्जिनियरमार्फत योजना डिजाइन र कागजातहरू तयार पारिएको देखिएको छ ।
अख्तियारले ती कागजातहरूको अध्ययन, विश्लेषण र प्रमाण संकलनको काम तीव्र बनाएको छ । आयोग स्रोतले बतायो, ‘वर्षौंअघिदेखि अधुरो रहेका संरचना र फाइलहरू थुनिएर बसेको अवस्थाले नै गम्भीर अनियमितताको पुष्टि गर्छ । अब कानुनी कारबाही टार्न सकिने अवस्था छैन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


