‘जनकपुरको जलनिकास सुधार नगरे विनाश निश्चित’

जनकपुरधाम, ६ जेठ । जनकपुरधाममा वर्षायाम सुरु हुनु अघिनै नागरिक समाजले गम्भीर जलनिकास समस्या र सार्वजनिक नाला तथा सडकको अव्यवस्थापनप्रति आक्रोश प्रकट गर्दै तत्काल समाधानका लागि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
‘जनकपुर नागरिक समाज’ को तर्फबाट सार्वजनिक गरिएको एक मागपत्रमार्फत मुख्यमन्त्री, नगरप्रमुख, सरोकारवाला निकाय र पत्रकारसमुदायलाई सम्बोधन गर्दै जनकपुरधामलाई जलप्रकोपबाट जोगाउन ठोस र कारगर कदम चाल्न माग गरिएको हो ।
मागपत्रमा भनिएको छ, ‘एशियाली विकास बैंकको सहकार्यमा सञ्चालित एकीकृत शहरी विकास परियोजनाअन्तर्गत निर्माण गरिएको नाला र सडक मापदण्ड विपरीत बनेको देखिएको छ । निर्माण सम्पन्न भएको केही वर्षमै नाला भत्किएको, पानी निकास हुन नसकेको र सडक समेत ध्वस्त अवस्थामा पुगेको छ ।’
‘यस्ता संरचनाले समस्या समाधान गर्नुको सट्टा अझ जटिल बनाइदिएको छ । “खर्च त करोडौं भएको छ । तर, परिणाम शून्य,’ मागपत्रमा उल्लेख छ ।
धर्मबाँध, दुधमती र जलाद नदीजस्ता जनकपुरका प्रमुख जलनिकास मार्गहरू अतिक्रमणको चपेटामा परेका छन् । साथै, सहरको परम्परागत पैनी प्रणाली, जुन जनकपुरका सागर र सरोवरहरूसँग जोडिएको थियो । ती सबै अहिले पूरै बन्द वा अवरुद्ध भएको उल्लेख गरिएको छ । यही कारणले विद्यालय, अस्पताल, कार्यालय र बासोबास क्षेत्रहरू समेत आगामी वर्षामा डुबानमा पर्ने निश्चित देखिन्छ ।
जनकपुर नागरिक समाजले पाँच बुँदे सुझावसहित सरकारसँग तत्काल पहल गर्न अनुरोध गरेको छ । वर्षा सुरु हुनु अघि नै सम्पूर्ण जलनिकास नक्शा सार्वजनिक गर्न, सार्वजनिक जलनिकास, नदी र नालाहरूबाट अतिक्रमण हटाउन, असफल ड्रेनेज प्रणालीको पुनः प्राविधिक मूल्याङ्कन र पुनर्निर्माण गर्न, स्थानीय अभियन्ता र नागरिक प्रतिनिधिसहितको संयुक्त निगरानी समिति बनाउन, परियोजनाको कार्यान्वयनमा संलग्न ठेकेदार, सुपरविजन निकाय र सरकारी संयन्त्रमाथि जिम्मेवारी तोकी कारबाही गर्न माग गरिएको छ ।
मागपत्रमा लेखिएको छ, ‘जनकपुरधाम कुनै सामान्य शहर होइन । यो आस्था, इतिहास र संस्कृतिको प्रतीक हो । तर, यदि जलनिकास जस्तो आधारभूत सेवाको उपेक्षा यसरी नै भइरह्यो भने यो शहर बाढी र जलजमावको कारण इतिहासमै डुब्ने खतरा देखिन्छ ।’
नागरिक समाजले अब पनि मौनता अपनाइयो भने जनकपुर आगामी वर्षामा जलप्रकोपको चरम मारमा पर्न सक्ने चेतावनी दिएको छ । जलनिकास जीवन रक्षासँग प्रत्यक्ष जोडिएको विषय रहेकोले यसको उपेक्षा विनाशको निम्तो बन्न सक्ने भनिएको छ ।
जनकपुर नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले भने, ‘जनकपुरधामको अस्तित्व जोगाउन सरकार, निकाय, नागरिक समाज र सञ्चारमाध्यम सबैले मिलेर काम गर्नुको विकल्प छैन । अन्यथा, वर्षा आउँदासाथ जनकपुर एकपटक फेरि डुब्न तयार रहनुपर्छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


