जनकपुरधाम, ५ जेठ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरमा सोमबार शहीद मुंगालाल महतो र मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन गरिएको छ ।

२०३६ सालको किसान आन्दोलनमा पञ्चायती शासनविरुद्ध आवाज उठाउँदै ज्यान गुमाएका दुई शहीदको स्मृतिमा यो महत्वपूर्ण संरचना निर्माण गरिएको हो ।

कार्यक्रम मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो, स्वतन्त्र नागरिक तथा समाजसेवी रामरिझन यादव लगायत समाजका विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शहीद परिवार, बुद्धिजीवी, सामाजिक अभियन्ता, विद्यार्थीहरू र नगरवासीहरूको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख महतोले भने, ‘शहादत कुनै व्यक्तिको मात्र नभई जनताको हक, अधिकार र स्वाभिमानको बलिदान हो । शहीद मुंगालाल र मोहन महतोले २०३६ सालको किसान आन्दोलनमा प्राणको आहुति दिएर निरङ्कुशता र अन्यायविरुद्ध संघर्षको मार्ग देखाएका थिए । आज उनीहरूको योगदानलाई सम्मान गर्न हामीले यो स्मृति भवन र शालिक निर्माण गरेका छौं । यसले भावी पुस्तालाई प्रेरणा दिनेछ ।’

उनले स्मृति भवनलाई सामाजिक सचेतना, नागरिक जिम्मेवारी र ऐतिहासिक चेतनाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा स्वतन्त्र नागरिक रामरिझन यादवले भने, ‘शहीद मुंगालाल र मोहन महतोको बलिदानले हामीलाई अन्यायविरुद्ध लड्ने साहस दिएको छ । केवल स्मृति भवन बनाउनु नै पर्याप्त छैन । उनीहरूको आदर्शलाई व्यवहारमा उतार्नु हाम्रो दायित्व हो ।’

अन्य वक्ताहरूले पनि शहीदहरूको बलिदानले मधेशको राजनीतिक र सामाजिक चेतनामा ठूलो योगदान पुर्याएको उल्लेख गर्दै शहीदहरूको सपना साकार पार्न सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने धारणा राखे ।

२०३६ साल जेठ ५ गते ढल्केबरमा पञ्चायती व्यवस्थाविरुद्ध किसानहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले गोली चलाउँदा मुंगालाल महतो र मोहन महतो सहादत प्राप्त गरेका थिए । उनीहरूलाई शोषण, अन्याय र असमानताविरुद्ध उभिएका साहसी नागरिकका रूपमा स्मरण गरिन्छ ।

कार्यक्रममा शहीद परिवारलाई सम्मानसमेत गरिएको थियो । साथै, सहभागी जनसमुदायले शहीद शालिकमा फूलमाला अर्पण र दीप प्रज्वलन गर्दै श्रद्धाञ्जलि अर्पण गरे ।