सर्लाही, ५ जेठ । सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित हुलाकी सडकखण्डमा प्रहरीले नक्कली नेपाली नोटसहित दुई युवालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले मोटरसाइकल जाँचका क्रममा नक्कली नोट फेला पारेर उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–६ निवासी २१ वर्षीय मुकेश कुमार साह र हरिपुर्वा नगरपालिका–४ डुमरिया निवासी २३ वर्षीय सरोज पण्डित रहेका छन् ।

सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलीले आइतबार साँझ ४ः३५ बजे उनीहरूलाई चेकजाँचको क्रममा पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ ।

मुकेश कुमार साहले चलाइरहेको बिआर ३० एपी ७५३९ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा प्रहरी टोलीले उनको साथबाट ५०० रुपैयाँ दरका ४८ थान नक्कली नोटहरू फेला पारेको हो ।

नोटसहित मोटरसाइकलको पछाडि सवार रहेका सरोज पण्डितलाई समेत नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू नक्कली नोट बिक्री तथा वितरण गर्ने योजनामा रहेको प्रहरीको अनुमान छ ।

पक्राउ परेका दुबै युवकलाई आवश्यक अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । नक्कली नोट कसरी तयार पारियो, यसको स्रोत के हो, कति मात्रामा यो कारोबार भएको छ भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।