जनकपुरधाम, ५ जेठ । मिथिला सभ्यता र संस्कृति प्रवद्र्धनको अभियानस्वरूप जनकपुरधाममा निर्माण गरिएको मैथिली विकास कोषको चारतले भवन अन्ततः सम्पन्न भएको छ ।

७ करोड रुपैयाँको लागतमा बनेको यो अत्याधुनिक भवनको उद्घाटन जेठ २३ गते नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय गरिएको छ ।

कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार उद्घाटन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्री सरोज यादव तथा नेपाली कांग्रेसका वरिष्ठ नेताहरूको पनि उपस्थिति रहनेछ ।

मैथिली भाषा, साहित्य, चित्रकला, हस्तकला, लोक परम्परा र मिथिला सभ्यताको समग्र विकासका लागि निर्माण गरिएको यस भवनमा १५ भन्दा बढी बहुउपयोगी कक्षहरू रहेका छन् ।

भवनमा सांस्कृतिक संग्रहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हल तथा व्यावसायिक प्रशिक्षण र प्रदर्शनीसहितको संरचना समेटिएको छ । भवनमा लिफ्टको सुविधा पनि उपलब्ध गराइएको छ ।

मैथिली सभ्यतासँग सम्बन्धित महापुरुषहरूको नाममा भवनका कक्षहरू नामाकरण गरिएको छ । जसमा विद्यापति कक्ष (अध्ययन तथा अनुसन्धान केन्द्र), जानकी कक्ष (संग्रहालय), डा. धीरेन्द्र कक्ष (प्रशिक्षण तथा वृत्ति विकास), सलहेस कक्ष (आर्ट ग्यालरी), दीनाभद्री कक्ष, शास्त्री कक्ष (सञ्चार तथा प्रविधि), याज्ञवल्क्य कक्ष, मिथिला सहिद कक्ष तथा एकैपटक ४ सय जना बस्न सक्ने राजर्षि जनक सभाकक्ष समेत रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

भवनभित्र मिथिलामा प्रयोग हुँदै आएका तर समयसँगै हराउँदै गएका परम्परागत वस्तुहरू पनि प्रदर्शनका लागि राखिएका छन् । यसमा काठको बाकस (सन्दुक), ढेकी, उखर समाठ, धान राख्ने कोठी, भकारी, माटोको चुल्हो लगायतका वस्तुहरू राखिएको छ । यी सामग्रीहरू मिथिलाको मौलिक जीवनशैलीको परिचायक भएको अध्यक्ष चौधरीले बताए ।