रौतहटमा चुरे अभियन्ताहरूको प्रदर्शन, वनमन्त्रीको राजीनामा माग

रौतहट, ५ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित गैडाटार क्षेत्रको वन क्षेत्र अतिक्रमण, सिसौ रुखको अवैध कटानी र चुरे क्षेत्रबाट खानीजन्य स्रोतहरूको तस्करीविरुद्ध चुरे तथा वन जंगल संरक्षण अभियान नेपाल–रौतहटले विरोध प्रदर्शन गरेको छ ।
डिभिजन वन कार्यालय अगाडि सोमबार आयोजित प्रदर्शनमा प्रदेश सरकार र वन मन्त्रालयमाथि आरोप लगाउँदै चुरे अभियन्ताहरूले प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहको राजीनासमेत माग गरेका छन् ।
अभियन्ताहरूका अनुसार गैडाटार क्षेत्रमा पाँच बिगाहाभन्दा बढी वन क्षेत्र माफियाले अतिक्रमण गरिसकेका छन् । त्यस क्षेत्रमा सयौं सिसौका रुखहरू अवैध रूपमा काटिएका छन् भने काठ र खानीजन्य सामग्री—गिट्टी, बालुवा र ढुंगाको तस्करी खुलेआम भइरहेको छ ।
चुरे अभियन्ता राजेश भण्डारीले वन कार्यालयमाथि गम्भीर आरोप लगाउँदै भने, ‘वन कार्यालयले सर्वसाधारणलाई काठ वितरण नगरी ठेकदारलाई प्रतिक्युबिक फिट १४–१५ सय रुपैयाँमा टेन्डर दिन्छ । यसमा उच्च तहसम्मको मिलोमतो छ, जसले वन स्रोतको दोहनलाई संस्थागत स्वरूप दिएको छ ।’
भण्डारीका अनुसार ठेकदारहरू र वन कर्मचारीबीचको साँठगाँठ, स्थानीय विकास योजनामा हुने कमिसनको लेनदेन र निरीक्षण प्रणालीको कमजोरीका कारण चुरे दोहन अराजक ढंगले बढ्दो छ । ‘यो केवल वनको विनाश होइन, सम्पूर्ण प्रदेशको वातावरणीय सन्तुलनमा खतरा हो,’ उनले भने ।
प्रदर्शनमा सहभागी अभियन्ताहरूले ‘चुरे दोहन बन्द गर’, ‘कमिसन खोर वन सचिव प्रदेश छोड’, ‘अतिक्रमणकारी माफियालाई कारबाही गर’ भन्ने नारासहित सरकारलाई चेतावनी दिएका थिए । उनीहरूले डिभिजन वन कार्यालय र प्रदेश वन मन्त्रालयको मिलेमतोले वन विनाशलाई प्रोत्साहन दिएको आरोप लगाएका छन् ।
कार्यक्रमको नेतृत्व गरेका जिल्ला संयोजक अमिरी सहनीका अनुसार यो अभियान तत्कालीन विरोध प्रदर्शनमा मात्र सीमित रहने छैन । ‘हामी निरन्तर दबाब सिर्जना गर्दै जान्छौं, चुरे बचाउन अबको आन्दोलन निर्णायक बनाउनेछौं,’ सहनीले चेतावनी दिए ।
नन्दकिशोर राम, ओपिन्द्र यादव, अनिता यादव, निरज साहलगायत अभियन्ताहरूले चुरे तथा वन संरक्षणको अभियानलाई स्थानीयदेखि प्रदेशस्तरको एजेन्डा बनाउने प्रतिबद्धता जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


