सर्लाही, ५ जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ किसनपुरका २८ वर्षीय अरविन्द कुमार पण्डितको रहस्यमय हत्या प्रेम सम्बन्धकै कारण योजनाबद्ध ढंगले गरिएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार मलङ्गवामा पत्रकार सम्मेलन गर्दै घटनाका प्रमुख आरोपितसहित ६ जनालाई सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार अरविन्दको हत्या २५ वर्षीया विवाहित महिला नजिमा खातुन र उनका श्रीमानसहित आफन्तहरू मिलेर सामूहिक रूपमा गरेका हुन् । नजिमा ईश्वरपुर नगरपालिका–६ चिरानटोलकी हुन् । उनी तीन सन्तानकी आमा हुन् भने उनका श्रीमान ३० वर्षीय मोस्तकिम अंसारी यस घटनामा प्रमुख योजनाकारका रूपमा रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

हत्या आरोपमा पक्राउ परेकामा मोस्तकिमका आफन्तहरू ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, ४० वर्षीय सुयब अंसारी, २५ वर्षीय कोनूर आलम अंसारी र सलाउद्दिन अंसारी पनि रहेका छन् । सबै अभियुक्तहरू आपसमा नातेदार रहेको र घटनामा प्रत्यक्ष संलग्न रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए ।

प्रहरीको अनुसन्धान अनुसार मृतक अरविन्द र नजिमाबीच विगत केही वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । नजिमा विवाहित भए पनि उनीहरूबीचको सम्बन्ध निकै नजिकको थियो । सम्बन्धका कारण उनीहरू चैत १९ गते घरबाट भागेर भारत गएका थिए । उनीहरूले त्यहाँ झन्डै एक महिना बसेर वैशाख २० गते मात्र नेपाल फर्किएका थिए ।

नेपाल फर्किएपछि गाउँमा छलफल गरी नजिमालाई पुनः श्रीमान मोस्तकिमसँगै राख्ने सहमति जुटाइए पनि अरविन्द नजिमालाई निरन्तर भेट्न थाल्दा स्थानीय र परिवारजनबीच तनाव सिर्जना भएको थियो । यही तनावले अन्ततः उनलाई ज्यानै जाने परिस्थितिमा पुर्यायो ।

प्रहरीका अनुसार वैशाख २८ गते बिहान ८ बजे नजिमाले नै अरविन्दलाई ईश्वरपुर नगरपालिका–८ स्थित फूलजोर बाबा मन्दिर नजिक भेट्न बोलाएकी थिइन् । त्यहीँबाट अभियुक्तहरू मिलेर उनलाई नजिकैको फूलजोर खोलातर्फ लगे । त्यहाँ सामूहिक रूपमा उनको मुख थुनी हत्या गरिएको थियो ।

हत्या पश्चात शवलाई घाँसपात र लहरीले छोपेर अभियुक्तहरू घर फर्किएका थिए । तर, मृत शरीरको दुर्गन्ध फैलिएपछि शव लुकाउन राति ९ बजे उखुबारीमा लगेर फालिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

वैशाख ३० गते बिहान साढे ८ बजे सडेको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । तर, शवको तत्काल सनाखत हुन सकेन । त्यसपछि वैशाख ३१ गते मृतकका दाजु अशोक कुमार पण्डित प्रादेशिक अस्पताल मलङ्गवा पुगेपछि मात्र शवको पहिचान भएको थियो ।

प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काका अनुसार हालसम्मको अनुसन्धानमा अरविन्दको हत्या प्रेम सम्बन्ध र त्यसबाट उत्पन्न सामाजिक तनावका कारण पूर्वनियोजित रूपमा गरिएको पुष्टि भएको छ । सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।