जनकपुरधाम, ४ जेठ । धनुषा जिल्लास्थित मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको कार्यालयमा समाचार संकलनका लागि पुगेका कान्तिपुर टेलिभिजनका संवाददाता अमरकान्त ठाकुरमाथि पालिकाका अध्यक्ष जयकुमार यादवद्वारा दुर्व्यवहार भएकोप्रति प्रेस सेन्टर नेपाल धनुषाले आपत्ति जनाएको छ ।

पत्रकार महासंघ मधेश प्रदेशका पार्षदसमेत रहेका ठाकुरलाई गरिएको व्यवहारलाई प्रेस स्वतन्त्रतामाथि प्रहारका रूपमा लिँदै प्रेस सेन्टर नेपाल धनुषाले उक्त घटनाको भर्त्सना गर्दै विज्ञप्ति सार्वजनिक गरेको हो । अध्यक्ष दिपककुमार मिश्रद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनप्रतिनिधिले पत्रकारमाथि दुर्व्यवहार गर्नु लोकतान्त्रिक मूल्य–मान्यतामाथिको अपमान भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पालिकाले विगतमा सञ्चालन गरेका विकास निर्माणका गतिविधिहरूमा पारदर्शिता नरहेको सन्देहका बीच पत्रकारले प्रश्न उठाउनु र सूचना संकलन गर्नु नै प्रेस स्वतन्त्रताको मूल अधिकार हो । तर, त्यसैको आधारमा पालिकाका अध्यक्ष यादवले संवाददातामाथि दुर्व्यवहार गर्नु अपारदर्शिता, अनियमितता र कुशासनको प्रतीकको रूपमा देखिएको छ ।’

प्रेस सेन्टर नेपाल धनुषाले लोकतन्त्र, सुशासन, पारदर्शिता, उत्तरदायित्व र जनताको सूचनाको अधिकारको संरक्षण गर्नु सबै जनप्रतिनिधिको जिम्मेवारी रहेको भन्दै अध्यक्ष यादवले आफ्नो व्यवहार सुधार नगरेमा कडा आन्दोलन चर्काउने चेतावनीसमेत दिएको छ ।

‘पत्रकारमाथि दुर्व्यवहार हुनु भनेको जनताको आँखामाथि पट्टि बाँध्ने प्रयास हो,’ अध्यक्ष मिश्रले भने, ‘लोकतान्त्रिक शासन प्रणालीमा जनप्रतिनिधिलाई प्रश्न गर्न पाउनु नागरिक र पत्रकारको नैसर्गिक अधिकार हो । तर, त्यस अधिकारमा अंकुश लगाउने प्रयास कदापि सह्य हुँदैन ।’

प्रेस सेन्टरले सम्बद्ध निकायलाई घटनाको यथोचित छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ । साथै, गाउँपालिकाको कार्यालय र अध्यक्ष यादवलाई आफूले वहन गर्नुपर्ने संवैधानिक कर्तव्य र मूल्यहरूको बोध गराउन समेत सुझाव दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यदि अध्यक्ष यादवले आफ्नो गलत शैली, मनोवृत्ति र कार्यशैलीमा सुधार नगरे हामी बाध्य भएर कडा आन्दोलनमा उत्रिनेछौँ ।’