जनकपुरधाम, ४ जेठ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ मा केही महिनाअघि मात्र सञ्चालनमा आएको जानकी फन पार्क एण्ड रिसोर्ट प्रा.लि. वाटरपार्कमा शनिवार भएको तोडफोड घटनाले मधेश प्रदेशको उद्योग तथा लगानी वातावरणमा प्रश्न खडा गरेको छ । जनकपुरधाम उद्योग वाणिज्य संघले घटनाप्रति आपत्ति जनाउँदै दोषी पहिचान, क्षतिपूर्ति र कडा कानुनी कारबाहीको माग गरेको छ ।

संघका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा पुगेको व्यापारी प्रतिनिधिमण्डलले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको छानबिनमा तत्काल तीव्रता ल्याउन आग्रह गरेको छ । प्रतिनिधिमण्डलमा पूर्व अध्यक्ष रमेश साह, उपाध्यक्ष गौतम साह, महासचिव फुलदेव पण्डित, पूर्व वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, इञ्जिनियर प्रकाशचन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

ज्ञापनपत्रमा भनिएको छ, ‘शनिवार केही अराजक र उच्छृंखल समूहले नयाँ सञ्चालनमा आएको फन पार्कमा तोडफोड गरी लाखौँ मूल्य बराबरको संरचना र सामग्रीमा क्षति पुर्याएको छ । यस्ता घटनाले उद्योग तथा पर्यटन क्षेत्रमा आशा बोकेर लगानी गर्न थालेका व्यवसायीहरूमा गम्भीर त्रास उत्पन्न भएको छ ।’

संघको विज्ञप्तिमा जनकपुरधाम मधेश प्रदेशको राजधानी बनेपछि उद्योग, कलकारखाना, होटल र अन्य व्यवसायिक प्रतिष्ठानहरू तीव्र रूपमा बढिरहेको भए पनि सुरक्षा संयन्त्रको उपस्थिति कमजोर भएको आरोप लगाइएको छ ।

संघले वातावरणमैत्री लगानी प्रवद्र्धन गर्नका लागि व्यवसायीक संस्थाहरू सुरक्षित महसुस गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेको छ । ‘अपराधीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही नगरेसम्म लगानीकर्ताको विश्वास पुनःस्थापना हुन सक्दैन,’ संघले भनेको छ ।

संघले सरकारसँग तोडफोडमा संलग्न दोषीको तत्काल पहिचान र कानुनी कारबाही गर्नुपर्ने, फन पार्क सञ्चालकलाई पर्याप्त क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने र आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति रोक्न स्थायी सुरक्षा व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने माग गरेको छ ।

धनुषा लगायतका तराई क्षेत्रका जिल्लाहरूमा बालबालिका र परिवार लक्षित मनोरञ्जन स्थलहरूको संख्या थोरै छ । रमदैयास्थित जानकी फन पार्क क्षेत्रीयस्तरको मनोरञ्जन केन्द्रको रूपमा विकास हुँदै गरेको बेला भएको यो घटना मधेशमा पर्यटन सम्भावनामा पनि धक्का लगाउने खालको भएको संघको ठहर छ ।