मधेश प्रदेशको प्रहरी व्यवस्थामा पूर्वाधार अभाव, जनशक्ति र प्रविधि अभिवृद्धिको माग

जनकपुरधाम, ४ जेठ । मधेश प्रदेशमा शान्ति सुरक्षा कायम राख्ने मुख्य जिम्मेवारी बोक्ने प्रहरी संगठन स्वयं आधारभूत पूर्वाधार, प्रविधि र जनशक्ति अभावमा परेको भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् ।
आइतबार जनकपुरधाममा आयोजित छलफल कार्यक्रमले मधेश प्रदेशका प्रहरी इकाईहरू कमजोर भौतिक संरचना, सवारीसाधनको न्यून उपलब्धता, अनुसन्धानमा प्रविधिको अभाव र जनशक्ति अभावका कारण काम प्रभावकारी रूपमा गर्न नसकेको निष्कर्ष निकालेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उक्त कार्यक्रममा मुख्यमन्त्री सतिश कुमार सिंह, गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी तथा प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालालगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरूको भवन जीर्ण, अस्थायी टहरामा सञ्चालन हुँदै आएको र कतिपय स्थानमा भाडाको घरमा सेवा सञ्चालन गर्नुपरेको बताउँदै यथाशीघ्र संरचना सुधारको आवश्यकता औंल्याए ।
एसएसपी कोइरालाले प्रस्तुत प्रतिवेदनमा अनुसन्धानका क्रममा अत्यावश्यक प्रविधिहरू फरेन्सिक उपकरण, डिजिटल निगरानी प्रणाली, साइबर अपराध अनुसन्धान प्रणाली र डेटा व्यवस्थापन उपकरणको अभाव रहेको बताए । उनले सीमित स्रोतसाधनका बीच कार्यरत प्रहरी अधिकृत तथा जवानहरूले निरन्तर जोखिमपूर्ण कार्य गर्दै आइरहेको उल्लेख गरे ।
गृहमन्त्री लेखीले प्रहरीलाई प्रभावकारी बनाउने मुख्य आधार पूर्वाधार, प्रविधि र जनशक्ति भएको उल्लेख गर्दै भने, ‘यदि हामीले संरचना सुधार नगरेर प्रविधि हस्तान्तरण नगर्ने हो भने मधेशमा बढ्दै गइरहेको सुरक्षा चुनौतीसँग जुध्न कठिन हुन्छ ।’
मुख्यमन्त्री सिंहले छलफलमा उठाइएका मुद्दा गम्भीर रहेको भन्दै यसलाई अब सरकारी नीति, कार्यक्रम र बजेटको प्राथमिकतामा समेट्ने तयारी सुरु गरिने बताए । उनले प्रहरी संगठनको सुदृढीकरण प्रदेश सरकारको प्रमुख एजेन्डा बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागी अन्य अधिकारी र सुरक्षा विशेषज्ञहरूले प्रदेश प्रहरीको संस्थागत सुधारका लागि बहुस्तरीय समन्वय, संघीय सरकारको सहयोग र स्थानीय तहसँगको सहकार्य अपरिहार्य रहेको धारणा राखे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


