सिरहामा लागुऔषध र हुण्डी कारोबारमा संलग्न दाजु–बहिनीसहित पाँच जना पक्राउ

सिरहा, ४ जेठ । सिरहा जिल्लामा प्रहरीको कडा निगरानीका बीच ठूलो मात्रामा लागुऔषध कारोबार र हुण्डी कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । लहान नगरपालिका–२२ का दिनेशकुमार यादव र उनकी बहिनी किरणकुमारी यादवलाई खैरो हिरोइन र लाखौं नगदसहित नियन्त्रणमा लिएर सिरहा प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डिएसपी बीरेन्द्र पासवानले दिएको जानकारीअनुसार वैशाख २ गते गुप्त सूचनाका आधारमा लहान नगरपालिका–१२ भोटिया टोलमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट ५५ लाख २२ हजार ९८३ रुपैयाँ नगद र करिब २०८ ग्रामभन्दा बढी खैरो हिरोइन बरामद गरिएको छ ।
प्रहरीका अनुसार बरामद लागुऔषध प्लास्टिकसहित २०८.९० ग्राम र प्लास्टिक बाहेक २०१ ग्राम रहेको छ । यसको बजार मूल्य करिब ८ लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ । पक्राउ परेका दिनेश यादव यसअघि पनि लागुऔषध कारोबारको आरोपमा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । उनी २०८० साउन १२ गते पक्राउ परेका थिए र ६ महिना कैद भुक्तान गरी छुटेका थिए ।
सिरहाका प्रहरी प्रमुख एसपी अनन्तराम शर्माका अनुसार दाजु–बहिनीले भारतबाट खैरो हिरोइन ल्याएर स्थानीय बजारमा बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको छ । उनीहरूले बिक्री गरेर जम्मा गरेको रकम नै बरामद नगद भएको जनाइएको छ । शर्मा भन्छन्, ‘खुला सिमानाको दुरुपयोग गरी लागुऔषध भित्र्याउने क्रम रोक्न प्रहरी सतर्क रहेको छ ।’
यसै क्रममा सिरहाको बरियारपट्टी गाउँपालिका–३ बाट दुई युवक २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज राई पनि खैरो हिरोइनसहित पक्राउ परेका छन् । उनीहरूको साथबाट ७१० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
यता, सिरहा नगरपालिका–१७ का सञ्जय कारकलाई प्रहरीले १६ लाख ३८ हजार ३७० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ । सञ्जय हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार पछिल्लो समय सिरहामा खुला सिमानाको दुरुपयोग गर्दै लागुऔषध तथा अवैध वित्तीय कारोबार तीव्र रुपमा फैलिएको छ । यसविरुद्ध प्रहरीले व्यापक निगरानी र कारबाही अभियान थालेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


