पत्रकारमाथि गाउँपालिका अध्यक्षको दुर्व्यवहार, महासंघद्वारा विरोध

जनकपुरधाम, ४ जेठ । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि गाउँपालिका अध्यक्ष जयकुमार यादवले दुर्व्यवहार गरेका छन् ।
कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता तथा नेपाल पत्रकार महासंघ धनुषा शाखाका सक्रिय सदस्य अमरकान्त ठाकुरलाई अध्यक्ष यादवले सार्वजनिक रूपमा अपमानजनक व्यवहार गरेका हुन् । ठाकुर गाउँपालिकामा भइरहेका कार्यक्रम र आर्थिक गतिविधिबारे जानकारी लिन पुगेका विभिन्न पार्टीका प्रतिनिधिहरूसँगै समाचार संकलन गर्न गएका थिए ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार विगत वर्षदेखि नै पालिकामा भइरहेको कामबारे जानकारी दिन टार्दै आएको गाउँपालिकाको प्रवृत्तिलाई थप ढाकछोप गर्ने प्रयास अध्यक्ष यादवबाट भएको उल्लेख छ । विभिन्न दलका प्रतिनिधिहरूले सूचना माग गर्दा समेत असहयोग गरिएको र पत्रकारमाथि दुर्व्यवहार गरिएको महासंघको भनाइ छ ।
अध्यक्ष यादवले आफू पालिकामा नरहेको अवस्थामा पत्रकारले प्रवेश गर्न नपाउने र अनिवार्य रूपमा जानकारी गराएर मात्र पालिकामा आउनुपर्ने भन्ने वक्तव्य सार्वजनिक रूपमा दिएको विषयलाई महासंघले अत्यन्त गैरजिम्मेवार ठहर गरेको छ । महासंघका सचिव बटुकनाथ झाले जारी गरेको विज्ञप्तिमा पत्रकारमाथि भएको व्यवहार लोकतान्त्रिक मूल्य र अभिव्यक्तिको स्वतन्त्रता विरुद्ध रहेको उल्लेख गरिएको छ ।

महासंघले पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्न दिनुपर्ने, सूचना प्रवाहमा सहजता कायम गर्नुपर्ने र यस्ता घटनाको पुनरावृत्ति रोक्न स्थानीय तहलाई सचेत गराउने चेतावनी दिएको छ । साथै, अध्यक्ष यादवलाई माफी माग्न र भविष्यमा यस्ता कार्य नगर्न आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


