जनकपुरधाम, ३ जेठ । जनकपुरधामस्थित कृष्णा फाउन्डेसनले क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित वन्डरल्याण्ड वाटरपार्कमा शनिबार आयोजना गरिएको फेयरवेल कार्यक्रममा भएको अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै जिम्मेवार व्यक्तिहरूमाथि छानबिन र कडा कारबाहीको माग गरेको छ ।

फाउन्डेसनले कक्षा १२ का परीक्षार्थीहरूका लागि रमाइलो र प्रेरणादायी विदाई दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको थियो । सहभागी विद्यार्थीहरूले निर्धारित प्रवेश शुल्क तिरेका थिए । सुरक्षा एवम् व्यवस्थापनका हिसाबले फोटोसहितको परिचयपत्र र भुक्तानी प्रमाणपत्र अनिवार्य गरिएको थियो । कार्यक्रम पूर्ण रूपमा सुव्यवस्थित र मर्यादित बनाउनेतर्फ संस्था प्रतिबद्ध रहेको फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका अनुसार कार्यक्रम शान्त र अनुशासित रूपमा सञ्चालन भइरहेको थियो । तर, आयोजकको पूर्वस्वीकृति विना केही बाह्य समूहले जबर्जस्ती प्रवेश गर्न खोजेपछि वातावरण तनावपूर्ण बन्दै गयो । त्यही क्रममा केही व्यक्तिले कार्यक्रम स्थलमा अराजकता सिर्जना गरे ।

फाउन्डेसनले घटनाको मूल कारण आयोजक नभई बाह्य तत्वहरूको गैरजिम्मेवार क्रियाकलाप रहेको जनाएके छ । घटनाप्रति खेद व्यक्त गर्दै फाउन्डेसनले सम्पूर्ण सहभागी विद्यार्थीहरूको प्रवेश शुल्क पूर्ण रूपमा फिर्ता गर्ने निर्णय गरेको छ । अभिभावक तथा विद्यार्थीप्रति संस्थाको जवाफदेहिता रहोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको फाउन्डेसनका उपाध्यक्ष सुजित कर्णले जनाए ।

फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रा विद्यार्थी र अभिभावकहरूप्रति कृतज्ञ छौं । वहाँहरुले निरन्तर विश्वास र समर्थन देखाउँदै आउनुभएको छ । यस्ता अप्रत्याशित घटनाबाट त्यो विश्वास कमजोर नहोस् भन्ने उद्देश्यले हामी पूर्ण शुल्क फिर्ता गर्ने निर्णयमा पुगेका हौं ।’

फाउन्डेसनले आगामी दिनमा यस्ता कार्यक्रम आयोजनाका क्रममा सुरक्षालाई अझ बलियो बनाउने, पूर्वानुमानको आधारमा सम्भावित जोखिम व्यवस्थापन गर्ने र प्रशासनसँग सहकार्यलाई मजबुत पार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘हामी यस्ता घटनाबाट पाठ सिक्दैछौं। भविष्यमा यस्ता गल्ती नदोहोरियोस् भनेर हामी आवश्यक संरचनागत र व्यवस्थापकीय सुधार गर्नेछौं,’ फाउन्डेसनले जनाएको छ ।