जनकपुरधाम, ३ जेठ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित वण्डरल्यान्ड वाटरपार्कमा भएको तोडफोड र क्षतिको घटनाप्रति जनकपुरधाम उद्योग वाणिज्य संघले विरोध जनाउँदै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।

शनिबार घटित उक्त घटनालाई ‘निन्दनीय, दण्डनीय र विकास विरोधी’ भन्दै संघले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति प्रकट गरेको छ । संघले वण्डरल्यान्ड वाटरपार्कमा भएको तोडफोडलाई जनकपुरधाममा निजी क्षेत्रको लगानीमाथिको खुला आक्रमणको रूपमा चित्रण गरेको छ ।

लगभग ३ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको वण्डरल्यान्ड वाटरपार्क मधेश प्रदेशकै सबैभन्दा ठूलो र आकर्षक मनोरञ्जनस्थलका रूपमा प्रचारमा रहेको समयमा भएको यो घटना राजधानी जनकपुरधामको पर्यटन विकास र आर्थिक समृद्धिमाथिको कुठाराघात भएको संघको भनाइ छ ।

संघका अध्यक्ष सुरेन्द्र कुमार भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मधेश प्रदेशमा निजी लगानीका यस्ता नमुना परियोजनामाथि यसरी आक्रमण हुनु केवल सम्पत्तिमाथिको क्षति मात्र नभई लगानीकर्ताको मनोबल तोड्ने र सम्भावित व्यवसायिक वातावरणलाई तहसनहस पार्ने दुष्प्रयास हो ।’

संघले घटनामा संलग्न व्यक्तिहरूलाई तुरुन्त अनुसन्धान गरी कडा भन्दा कडा कानुनी कारबाही गर्न र वाटरपार्कमा भएको क्षतिको क्षतिपूर्ति भराउन माग गरेको छ । महासचिव फुलदेव पण्डितद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही नगरिए लगानीमैत्री वातावरण थप कमजोर हुनेछ । यसले स्थानीय रोजगारी, सेवा क्षेत्र र पर्यटन प्रवद्र्धनमा दीर्घकालीन असर पुर्याउनेछ ।’

जनकपुरधाम उद्योग वाणिज्य संघले पहाडी जिल्लाहरूमा यस्तै संरचनाहरू विकसित भई पर्यटकीय गतिविधिहरू बढिरहेको सन्दर्भमा मधेशमा त्यस्ता परियोजनाहरू अवरुद्ध गर्ने र नष्ट गर्ने प्रयासलाई तत्काल रोक्न चेतावनी दिएको छ ।

अध्यक्ष भण्डारीले भने, ‘विकासको पूर्वसर्त हो शान्ति र स्थायित्व । यदि निजी लगानी सुरक्षीत छैन भने कुनै पनि प्रदेशमा दिगो विकासको कल्पना गर्न सकिँदैन । त्यसैले, राज्यले यस्ता घटनाहरूप्रति शून्य सहनशीलता अपनाउनु आवश्यक छ ।’

विज्ञप्तिमा जनकपुरधाम र मधेश प्रदेशभर यस्ता घटना पुनः नदोहरियोस् भन्ने उद्देश्यले सरकारले दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउनु पर्ने मागसमेत गरिएको छ ।

संघले वण्डरल्यान्ड वाटरपार्क जस्ता परियोजनाहरूलाई संरक्षण दिनु सम्पूर्ण क्षेत्रको दायित्व भएको भन्दै विकासविरोधी मानसिकता अन्त्य गर्न व्यापक चेतना अभियान चलाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।