जनकपुरधाम, ३ जेठ । मधेश प्रदेशका अति विपन्न तथा अशक्त वर्गका महिलाहरूलाई लक्षित गर्दै कर्ण कायस्थ महिला समाजले सिलाई मेसिन वितरण गरेको छ ।

समाजले ’सपना फाउन्डेसन’को आर्थिक सहयोगमा सञ्चालन गरेको उक्त कार्यक्रममार्फत ६ जना महिलालाई स्वरोजगारका लागि सिलाई मेसिन प्रदान गरिएको हो ।

संस्थाकी अध्यक्ष नुतन कर्णको अध्यक्षता र समाजकी केन्द्रीय अध्यक्ष पुनम दासको प्रमुख आतिथ्यमा जनकपुरधाममा आयोजित कार्यक्रममा मनटुटिया देवी, रानी पण्डित, अमृता कर्ण, रञ्जना कर्ण, रुबी कर्ण र ललिता देवीलाई सिलाई मेसिन प्रदान गरियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले महिलाको सीप विकास र आर्थिक सशक्तिकरणलाई दीगो सामाजिक विकासको मेरुदण्डको रूपमा उल्लेख गरे । उनीहरूले यस्तो सहयोगले महिलाहरूलाई आत्मनिर्भर बनाउन मात्र नभई सामाजिक रूपमा सशक्त र सम्मानजनक जीवन जिउन प्रेरित गर्ने बताए ।

कर्ण कायस्थ महिला समाजले विगत केही वर्षदेखि मधेश प्रदेशमा महिलामैत्री कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रमले विशेष गरी आदिवासी, सिमान्तकृत र पछाडि पारिएका समुदायका महिलालाई लक्षित गर्दै सीप विकास, शिक्षा, स्वास्थ्य र आत्मनिर्भरता अभिवृद्धिमा योगदान पुर्याएको छ ।

अध्यक्ष नुतन कर्णले भनिन्, ‘हामी केवल कायस्थ समुदायका महिलाका लागि मात्र सीमित छैनौं, हामीले मधेशका सबै कमजोर वर्गका महिलाको जीवनस्तर उकास्नका लागि काम गरिरहेका छौं । यो कार्यक्रम पनि त्यही निरन्तर प्रयासको हिस्सा हो ।’

संस्थाले पछिल्ला वर्षहरूमा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण, विद्यालय सामग्री सहयोग र सीपमूलक तालिममार्फत थुप्रै युवतीहरूलाई सशक्त बनाउने कार्य गरिसकेको छ । सिलाई मेसिन वितरणलाई यसै अभियानको निरन्तरता स्वरूप लिइएको छ ।

मुख्य अतिथि पुनम दासले भनिन्, ‘महिलालाई स्वरोजगारको माध्यमबाट सक्षम बनाउनु सामाजिक न्यायको महत्वपूर्ण पाटो हो । संस्थाले देखाएको सामाजिक उत्तरदायित्व अनुकरणीय छ । हामीले आगामी दिनमा यो अभियानलाई अझ व्यापक बनाउँदै लैजानेछौं ।’

कर्ण कायस्थ महिला समाजले आगामी दिनहरूमा साना उद्यमशीलता तालिम, महिला स्वास्थ्य क्याम्प र सामुदायिक शिक्षा अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।