जनकपुरधाम, ३ जेठ । सामाजिक सञ्जालमा निरन्तर अश्लील र अभद्र भाषा प्रयोग गर्दै चर्चित बनेका धनुषाका अमित यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘न्यू स्टार’ को नामले परिचित २२ वर्षीय यादवलाई शुक्रवार राति धनुषा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले गणेशमान चारनाथ नगरपालिका–८ लवटोली स्थित उनके घरबाट पक्राउ गरेको हो ।

अमित यादव टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जालमा सक्रिय छन् । उनी विगत लामो समयदेखि अभद्र र अश्लील भाषामा भिडियो सामग्री सार्वजनिक गर्दै आएका थिए । उनका यस्ता भिडियोहरूलाई समाजका विभिन्न वर्गका मानिसहरूले अस्वीकृत गर्दै आएका थिए । यसले गर्दा समाजमा गलत सन्देश फैलिरहेको र असहजता सिर्जना भएको स्थानीयले गुनासो व्यक्त गरेका थिए ।

यादवका भिडियोहरूले युवापुस्तामा नकारात्मक प्रभाव पारेका थिए । त्यसको विरोधमा सामाजिक चेतनाशील समूह र स्थानीय युवाहरूले प्रहरी प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए । युवाहरूले अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक मर्यादा उल्लंघन गर्ने यादवको गतिविधिबिरुद्ध कडा कारबाहीको माग गरेका थिए ।

प्रहरीले यादवविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यादवविरुद्ध साइबर अपराधसम्बन्धी कानुनी प्रक्रिया अन्तर्गत प्रारम्भिक तथ्य सङ्कलन र प्रमाण जुटाउने कार्य भइरहेको छ ।

यादव दोषी प्रमाणित भए उनीविरुद्ध साइबर अपराधसम्बन्धी ऐनअनुसार कानुनी प्रक्रिया अघि बढाइने छ ।