जनकपुरधाम, ३ जेठ । ग्यास बिक्रेता संघ धनुषाको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदस्थापन समारोह शनिबार जनकपुरधाममा सम्पन्न भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह कार्यक्रमका प्रमुख अतिथि थिए । समारोहमा ग्यास व्यवसायको दिगोपनाका लागि नयाँ नेतृत्वबाट उत्साहजनक योजना र प्रतिवद्धता सुनिएको छ ।

नगर प्रमुख साहले शपथ ग्रहण समारोहको उद्घाटन गर्दै ग्यास व्यवसायलाई जनजीवनसँग प्रत्यक्ष सम्बन्धित एक अत्यावश्यक सेवा भएकोमा जोड दिएका छन् । उनले ग्यास विक्रेताको कार्यशैलीमा पारदर्शिता, उत्तरदायित्व र उपभोक्तामैत्रीपनको आवश्यकता रहेको बताउँदै यस क्षेत्रमा देखिने अनियमितताहरूको समाधानमा संघको नेतृत्वलाई अग्रसर हुने आवश्यकता औंल्याए ।

साहले भने, ‘ग्यास व्यवसायको दिगो भविष्य स्थानीय प्रशासन, व्यवसायी र उपभोक्ताबीचको सशक्त समन्वयमा निर्भर गर्दछ । हामीलाई विश्वास छ कि संघले अबको दिनमा नाफामुखी भन्दा सेवा मूलक दृष्टिकोणलाई आत्मसात गर्दै जनहितका लागि कार्य गर्नेछ ।’ उनले व्यवसायमा कृत्रिम अभाव, मूल्यवृद्धि र अन्य अनियमितताहरूको अन्त्य गर्न संघको भूमिका प्रभावकारी हुने अपेक्षा पनि व्यक्त गरे ।

शपथ ग्रहण समारोहमा ग्यास बिक्रेता संघ धनुषाका नवनिर्वाचित अध्यक्ष फुलदेव पण्डितले संघको प्राथमिकतामा ग्यास व्यवसायीहरूको हकहित र उपभोक्ताको अधिकार र हित संरक्षण हुने बताए । उनले यस क्षेत्रको व्यावसायिक सुरक्षा र नियम–कानूनमा सुधार ल्याउन सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

पण्डितले भने, ‘हामी सबै मिलेर ग्यास व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यमा अग्रसर हुनेछौं ।’ उनले आगामी दिनमा संघले नीतिगत सुधार र प्राविधिक सुदृढीकरणमा ध्यान दिने र यसका लागि स्थानीय प्रशासन र सरकारसँग संवाद गर्ने तयारी राखेको बताए ।

कार्यक्रममा धनुषासहित आसपासका जिल्लाबाट ग्यास व्यवसायीहरू, उद्योग वाणिज्य क्षेत्रका अग्रज, जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिती थियो । सहभागीहरूले ग्यास आपूर्ति प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र नियमनसंगत बनाउन नवनिर्वाचित कार्यसमितिको भूमिका आशा गरिएको बताए ।

संघको नवनिर्वाचित नेतृत्वले अब ग्यास व्यवसायमा देखिएका विभिन्न समस्याहरू समाधान गर्न सामूहिक प्रयास गर्ने, नीतिगत संवाद र प्राविधिक सुदृढीकरणको पहल गर्ने घोषणा गरेको छ । साथै, संघले जिल्लास्तरमा मात्र सीमित नभई प्रदेश र केन्द्र सरकारसँग नीति संवाद गरेर व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।