वाटरपार्कमा अराजकता : प्रबन्धक जैनद्वारा प्रशासनसँग कारवाहीको माग

जनकपुरधाम, ३ जेठ । जानकी फन पार्क एण्ड रिसोर्ट प्रा. लि. द्वारा सञ्चालित वन्डरल्याण्ड वाटर पार्कमा शनिबार कक्षा १२ का विद्यार्थीहरूको लागि आयोजित विशेष कार्यक्रममा अराजकता र तोडफोडको घटना घटेको छ । जनकपुरधामस्थित कृष्णा फाउण्डेशनले कक्षा १२ का विद्यार्थीहरूका लागि सो कार्यक्रमको आयोजना गरेको थियो । अत्यधिक संख्यामा रहेका विद्यार्थीहरूले पार्कमा प्रवेश गर्दा अनियन्त्रित भीडको अवस्था सिर्जना भएको थियो ।
वन्डरल्याण्ड वाटर पार्कका प्रबन्ध निर्देशक गुड्डु जैनले सो घटनाप्रति दुःख व्यक्त गर्दै यस घटनालाई लिएर प्रतिक्रिया व्यक्त गरे । उनले भने, ‘यस घटनामा उत्पन्न भएको तनाव र पार्कमा भएको तोडफोडले हामीलाई मर्माहत बनाएको छ । हामी सम्पूर्ण जनसमुदायसँग माफी चाहन्छौं र यस घटनाका दोषीहरूको कारवाही गर्न प्रशासनसँग अनुरोध गर्छौं ।’

कृष्णा फाउण्डेशनले प्रत्येक विद्यार्थीका लागि १ सयको क्यूआर कोडमार्फत टिकट बुझेको थियो र प्रबन्धनका लागि ९ बजे देखि १०ः३० बजेसम्मको समयसीमा तोकिएको थियो । आयोजकले विद्यार्थीहरूको एडमिट कार्ड र रसिद जाँच गरी पार्कमा प्रवेशको व्यवस्था मिलाएका थिए । तथापि, बढी संख्यामा विद्यार्थीहरू जम्मा भएपछि पार्कको प्रवेश द्वारमा भीड अनियन्त्रित भएको थियो ।
जैनले भने, ‘हामीले तोकिएको समयसीमाभित्र मात्र विद्यार्थीहरूलाई प्रवेश दिन चाहेका थियौं । तर, विद्यार्थीहरूको संख्या अनुमानभन्दा बढी भएपछि स्थिति जटिल बन्यो । हामीले तत्कालै पार्कका सुरक्षा गार्डहरूलाई सक्रिय गरायौं र पछि नेपाल प्रहरीलाई बोलाएर नियन्त्रण गर्ने प्रयास गरेका थियौं ।’

यस अप्रत्याशित घटनाले पार्कमा तोडफोडको स्थिति सिर्जना गर्यो । अहिले, पार्कको सम्पत्ति र संरचनामा पुगेको क्षतिको विवरण संकलन गरिँदैछ । नेपाल प्रहरीको मद्दतले केही व्यक्तिहरूलाई पक्राउ गरिएको छ र थप अनुसन्धान जारी छ ।
जैनले भने, ‘हामीले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारवाहीको लागि प्रशासनसँग माग गरेका छौं । हामी जिम्मेवार पक्षको पहिचान गरी आवश्यक कदम चाल्न तयार छौं ।’
वाटर पार्कको मर्मत र सफाई कार्य तीव्र गतिमा भइरहेको र पानी सफा गर्ने कामसमेत सम्पन्न भएको छ । आइतबारदेखि पार्कका सम्पूर्ण सेवा सोही समयमा सुचारु हुने जनाइएको छ ।

जैनले यस घटनामा सहयोग गरेका सबै कर्मचारी, उद्योगी, व्यवसायी, प्रहरी प्रशासन र अन्य सहयोगीहरूप्रति आभार व्यक्त गरे । ‘यस कठिन परिस्थितिमा हाम्रा कर्मचारी र सहयोगीहरूको समर्थनले हामीलाई ठूलो साहारा पुर्याएको छ। हामी सबैको सहयोगका लागि आभारी छौं,’ उनले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


