जनकपुरधाम, २ जेठ । जनकपुरधाम उपमहानगरपालिका–३ अन्तर्गत पर्शुराम मार्गस्थित हंसराज होटलदेखि मिल्स एरियातर्फ जाने पुरानो सडकखण्डमा नयाँ विद्युत पोल जडानको कार्य सुरु हुन लागेको छ ।

पुराना पोल हटाएर नयाँ प्रविधीयुक्त पोल जडान भएसँगै केबल व्यवस्थापनमा उत्पन्न समस्या समाधान गर्न वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले सम्बद्ध सरोकारवालाहरूलाई तत्काल ध्यान दिन आग्रह गरेका छन् ।

वडाध्यक्ष साहका अनुसार अहिलेका पोलहरूमा विभिन्न डिस होम, इन्टरनेट सेवा प्रदायक, टेलिफोन र अन्य केबल कम्पनीहरूले धेरै प्रकारका तारहरू जथाभावी झुन्ड्याएका छन् । यस्तो अव्यवस्थित प्रणालीका कारण नयाँ विद्युत प्रणालीको तार जडानमा प्राविधिक रूपमा असहज परिस्थिति सिर्जना भएको हो ।

वडाध्यक्ष साहले सोमबारसम्म पोलमा झुन्डिएका सबै किसिमका तारहरू व्यवस्थित रूपमा अर्को पोलमा सार्न सबै सम्बद्ध पक्षलाई अनुरोध गरेका छन् ।

उनले भने, ‘यो विकास कार्यलाई सहज बनाउन सबै सेवा प्रदायकको सहयोग अनिवार्य छ । निर्धारित म्यादसम्म समाधान नभएमा त्यसपछि उत्पन्न हुने कुनै पनि घटनाको जिम्मेवारी वडा कार्यालयले लिने छैन ।’

वडाध्यक्ष साहका अनुसार यस विषयमा सबै इन्टरनेट, केबल, टेलिकम र अन्य तार जडान गर्ने कम्पनीहरूलाई औपचारिक पत्रमार्फत सूचना दिने प्रक्रिया सुरु गरिएको छ ।

जनकपुरधामको धेरैजसो क्षेत्रमा विद्युत पोलमा विभिन्न किसिमका तारहरू अव्यवस्थित रूपमा झुन्डिएको देखिन्छ । यसले शहरी सौन्दर्य मात्र नभई सुरक्षा जोखिम समेत बढाएको छ । नयाँ पोल जडानसँगै यस्ता समस्या समाधान गर्न सकिने अपेक्षा गरिएको छ ।

वडाध्यक्ष साहले स्थानीय बासिन्दा र व्यवसायीहरूलाई समेत यो कार्यमा सजग र सहयोगी बन्न अनुरोध गरेका छन् । ‘यो केवल सरकारको काम होइन, सबैको साझा प्रयासमा मात्र समृद्ध र व्यवस्थित वडा निर्माण सम्भव छ,’ उनले भने ।