मिथिला नगरपालिकाका ६४ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जनकपुरधाम, २ जेठ । धनुषा जिल्लाको मिथिला नगरपालिकामा बसोबास गर्दै आएका भूमिहीन (सुकुम्बासी) ६४ परिवारको लामो समयदेखिको पर्खाइ शुक्रबार औपचारिक रूपमा समाप्त भएको छ । ढल्केवरमा आयोजित विशेष समारोहबीच उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा (जग्गाधनी प्रमाण पत्र) वितरण गरिएको हो ।
विगतका दशकदेखि स्वामित्वविहीन रूपमा जग्गामा बसोबास गर्दै आएका यी परिवारलाई अब राज्यले मान्यतासहितको अधिकार प्रदान गरेको छ ।
धनुषा नापी कार्यालयको दुई नम्बर टोलीले नगर क्षेत्रभित्रका विभिन्न गाउँब्लकको नापजाँच सम्पन्न गरेपछि लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाइएको थियो । नापी कार्यालय धनुषाका प्रमुख उमेश साहका अनुसार सबै प्राविधिक मापदण्ड र कानुनी प्रक्रिया पुरा गरी प्रमाण पत्र वितरण गरिएको हो ।
कार्यक्रममा मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो, जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, भूमि समस्या समाधान आयोगका अध्यक्ष सुरेश कोइरालालगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।
नगरप्रमुख महतोले भूमिहीनहरूप्रति राज्यको ऐतिहासिक जिम्मेवारी पूरा भएको बताए । ‘आजको दिन केवल कागज थमाउने कार्यक्रम होइन, यो न्याय दिलाउने प्रक्रिया हो,’ उनले भने ।
भूमि समस्या समाधान आयोगका अध्यक्ष सुरेश कोइरालाले लालपुर्जा वितरण जस्तो संवेदनशील विषयलाई राजनीतिक खेलको मैदान नबनाउन आग्रह गरे । उनले राज्यका प्रत्येक नागरिकलाई सुरक्षित बसोबासको अधिकार सुनिश्चित गर्न न्यायिक र मानवीय दृष्टिकोणबाट व्यवहार गर्नुपर्नेमा जोड दिए ।
लालपुर्जा पाउनेहरूमा मिथिला नगरपालिका वडा नं. १, ६ र ७ का भूमिहीन परिवारहरू छन् । यीमध्ये धेरै परिवारहरूले पुस्तौँदेखि सरकारी जमिनमा खेती गर्दै र घर बनाउँदै आएको भए पनि कानुनी कागजात नहुँदा सरकारी सेवाबाट वञ्चित थिए । अब उनीहरूले घर, जग्गा, क्रेडिट सुविधा र अन्य सरकारी सेवामा समावेश हुने बाटो खुलेको छ ।
नापी कार्यालयका अनुसार धनुषामा रहेका ७५ वटा गाउँब्लकमध्ये ७२ वटाको नापजाँच प्रक्रिया पूरा भइसकेको छ । हालसम्म १२ वटा गाउँब्लकमा लालपुर्जा वितरण गरिएको छ । बाँकी ब्लकका भूमिहीनहरूको लागि प्रक्रिया अघि बढिरहेको प्रमुख साहले बताए ।
कार्यक्रममा २ नम्बर नापी टोलीका प्रमुख सियाराम साह, मिथिला–६ का वडाध्यक्ष नन्दकिशोर यादव, वडा–१ का योगी महतो, वडा–५ का रामचन्द्र महतो, नेपाली कांग्रेस धनुषाका कोषाध्यक्ष राजलाल महतो लगायत अन्य स्थानीय नेताहरू उपस्थित थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


