रौतहट, २ जेठ । रौतहटको कटहरिया नगरपालिका–५ मा २१ वर्षीया नवविवाहिता सानिया प्रविनको रहस्यमय मृत्युले जिल्लामा चकित पार्ने वातावरण बनाएको छ । विवाह भएको ६ महिना नपुग्दै घरभित्रै मृत फेला परेकी सानियाको मृत्यु आत्महत्या हो कि हत्या भन्ने विषयले अहिले बहसको केन्द्र बनिरहेको छ ।

सानिया आफ्नै शयनकक्षमा साडीको पासो लगाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । ससुराली पक्षले आत्महत्या भनेपनि माइती पक्षले भने यो पूर्वनियोजित हत्या भएको दाबी गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

सानियाको विवाह कटहरिया–५ निवासी अरमान राय भाटसँग मुस्लिम परम्पराअनुसार धूमधामका साथ सम्पन्न भएको थियो । विवाहमा फर्निचर, फ्रिज, कुलर, सुनका गहना लगायतका बहुमूल्य सामग्रीहरू दाइजोका रूपमा दिइएको थियो । तर, विवाहपछिका दिनदेखि नै श्रीमान र परिवारले बारम्बार थप दाइजो माग्दै मानसिक तथा शारीरिक यातना दिँदै आएको सानियाका पिता महमद मोलाजीम रौशनले बताएका छन् ।

उनका अनुसार कहिले केटीएम मोटरसाइकल, कहिले १ लाख भारतीय रुपैयाँ, कहिले एसी जडान गर्नुपर्ने माग राखेर छोरीलाई असह्य दबाबमा राखिएको थियो । ‘छोरी निरन्तर रोइदिन्थी, हामीले धेरै पटक सम्झायौं । तर, उनीहरूका मागहरू कहिल्यै सकिएनन्,’ रौशनले भने ।

सानियाको मृत्युको खबरसँगै माइती पक्षले यो आत्महत्या नभई योजनाबद्ध हत्या भएको आरोप लगाएका छन् । उनका बाबुका अनुसार छोरीको घाँटी थिचेर हत्या गरेर शवलाई पंखामा झुण्ड्याइएको हो । ‘केवल आत्महत्या हो भन्ने विश्वास गर्न सकिन्न, केही दिनअगाडि एसी मागिएको थियो, त्यसको केही दिनमै यस्तो घटना हुनु सन्धर्भरहित छैन,’ उनले भने ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले सानियाका श्रीमान अरमान राय भाटविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा सानियालाई दाइजोको नाममा मानसिक यातना दिइएको पुष्टि भएको छ ।

प्रहरीका अनुसार मुख्य अभियुक्त अरमान राय हाल फरार छन् । उनलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको छ । साथै, ससुरा, सासु र अन्य सम्भावित संलग्न व्यक्तिहरूको भूमिकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय स्तरका केही प्रभावशाली व्यक्तिहरूले मुद्दा दबाउन प्रयास गरे पनि जिल्ला प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीको निर्देशनमा र डिएसपी कार्कीको सक्रियतामा अनुसन्धान यथावत् रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

नेपाल प्रहरी प्रमुख आईजिपी दीपक थापाले पनि घटनामा विशेष चासो राख्दै निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिएका छन् ।