वीरगंज महानगरमा २२ करोडभन्दा बढी बेरुजु

वीरगंज, २ जेठ । आर्थिक पारदर्शिता र जवाफदेहिताको सवालमा वीरगंज महानगरपालिकालाई चिन्ताजनक खबर छ । महालेखा परीक्षकको ताजा प्रतिवेदनअनुसार वीरगंज महानगरमा एकै आर्थिक वर्षमा २२ करोड ७५ लाख ६ हजार रुपैयाँ बराबरको बेरुजु भेटिएको छ । यसले यसलाई देशभरकै दोस्रो बढी बेरुजु हुने महानगर बनाएको छ ।
महालेखाले वीरगंजमा ६ अर्ब २८ करोड १६ लाख ५१ हजार रुपैयाँ बराबरको आर्थिक कारोबार परीक्षण गरेको थियो । ती परीक्षणहरूमध्ये उल्लेखित रकम औचित्य प्रमाण नपुगेको, अनियमित खर्च, नियमविपरीत प्रक्रिया र लेखाप्रणाली त्रुटिका कारण बेरुजुमा परिणत भएको प्रतिवेदनमा उल्लेख छ ।
वीरगंज महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब १२ करोड २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । यसमा सङ्घीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय र अन्य विविध स्रोतहरू समावेश छन् । आम्दानीभन्दा पनि थप ४ करोड बढी खर्च गरेर ३ अर्ब १६ करोड १६ लाख २५ हजार रुपैयाँ खर्च गरिएको छ ।
महालेखाको प्रतिवेदनअनुसार लेखापरीक्षण भएको कुल रकमको ३.६२ प्रतिशत हिस्सा बेरुजुमा परेको छ । यो अनुपात कुनै पनि आर्थिक प्रशासनिक इकाईका लागि सन्तोषजनक मानिदैन ।
देशका ११ महानगरपालिकामध्ये पोखरा महानगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । वीरगंज त्यसपछिको स्थानमा रहँदा विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु भेटिएको महालेखाको प्रतिवेदनले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


