जनकपुर–अयोध्या सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्दै धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्छ : एनपी साउद

महोत्तरी, २ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले जनकपुरधाम र अयोध्याबीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धलाई संस्थागत रूपमा विस्तार गर्न सके नेपालमा धार्मिक पर्यटनको असाधारण विकास हुने विश्वास व्यक्त गरेका छन् ।
‘महोत्तरी महात्मः वैचारिक, सांस्कृतिक तथा ऐतिहासिक संवाद उत्सव’ अन्तर्गत शुक्रबार महोत्तरीको जलेश्वरमा आयोजित एक दिवसीय विशेष कार्यक्रममा बोल्दै नेता साउदले रामजानकीसँग जोडिएका धार्मिक गन्तव्यहरूलाई आपसी सम्बन्धमा बाँधेर भारत र नेपाल दुवै देशका श्रद्धालु तथा पर्यटकहरूलाई आकर्षित गर्न सकिने स्पष्ट पारे ।
उनले भने, ‘जनकपुरधाम र अयोध्याबीच रेलमार्गमार्फत प्रत्यक्ष सम्पर्क कायम गर्न सकियो भने भारतका लाखौँ श्रद्धालु हरेक वर्ष नेपाल आउने छन् । यस्तो परियोजनाले धार्मिक पर्यटन मात्र नभई स्थानीय रोजगारी, पूर्वाधार विकास र व्यवसायिक अवसरमा समेत उल्लेखनीय योगदान दिनेछ ।’
साउदका अनुसार नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्ध केवल सांकेतिक वा परम्परागत मात्र नभई आर्थिक विकाससँग प्रत्यक्ष जोडिने खालको हुनुपर्छ । ‘हामीले रामजानकी मार्ग, पवित्र तीर्थस्थलहरू, सांस्कृतिक सम्पदा र धार्मिक उत्सवहरूलाई समन्वित रूपमा प्रवर्द्धन गर्न सके धार्मिक पर्यटन देशको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ,’ उनले जोड दिए ।
पूर्वमन्त्री साउदले आफ्नो मन्तव्यमा भगवान् राम र माता सीतालाई कुनै एक धर्म, राष्ट्र वा जातिको सीमित दायरामा नबुझ्न आग्रह गर्दै उनीहरूलाई सम्पूर्ण मानवताका आदर्श पात्रका रूपमा चित्रण गरे । ‘रामको वनवास होस् वा सीतामाथिको अन्यायको विरोधमा लिइएको युद्ध – यी सबै प्रसङ्गहरूले सामाजिक न्याय, धर्मनिष्ठा र नैतिकताको सन्देश दिन्छन्,’ उनले उल्लेख गरे ।
नेता साउदले नेपाल सरकारले धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको प्रचार–प्रसारमा अपेक्षित ध्यान नदिएको भन्दै चिन्ता व्यक्त गरे । उनले धार्मिक पर्यटनलाई व्यवस्थित ढंगले विकास गरी यसलाई आर्थिक विकासको मुख्य आधार बनाउने रणनीति आवश्यक रहेको बताए ।
नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउन अब नीतिगत तहमा गहिरो संवाद र सहकार्य आवश्यक भएको साउदको धारणा छ । ‘सांस्कृतिक सम्बन्धलाई केवल परम्परागत संवादमा सीमित नराखी सरकारी स्तरको पहल र पूर्वाधारको विकाससहितको ठोस कार्ययोजना चाहिन्छ,’ उनले भने ।
नेपाल–भारत मैत्री युवा संघ र संवाद फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न यो संवाद कार्यक्रममा इतिहासविद्, संस्कृतिविद्, युवा नेता र स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रह्यो । कार्यक्रमले जनकपुर, अयोध्या, जलेश्वरजस्ता धार्मिक नगरीहरूको भूमिकालाई पुनः स्थापित गर्न आवश्यक बहस र विचार आदानप्रदानको मंच प्रदान गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


