अन्तर्राष्ट्रिय मञ्चमा जनकपुरका अमित साहको सहभागिता

जनकपुरधाम, २ जेठ । जनकपुरधामका युवा नेता तथा नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित कुमार साहले अमेरिकी सरकारद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्टरनेशनल भिजिटर लिडरशिप प्रोग्राम (आइभिएलपी) – २०२५’ मा सहभागिता जनाउने अवसर पाएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत आमन्त्रित अमित नेपालबाट छनोट हुने एकमात्र सहभागी हुन् ।
यस कार्यक्रम अन्तर्गत साह आगामी मे १९ देखि जुन ७ सम्म तीन हप्ते अमेरिका भ्रमणमा रहनेछन् । कार्यक्रमको आयोजना अमेरिकी विदेश मन्त्रालय अन्तर्गत गरिन्छ । यसले विश्वभरका उदीयमान युवा नेताहरूलाई नेतृत्व विकास, लोकतान्त्रिक मूल्यहरू सुदृढीकरण, सामाजिक सञ्जाल र प्रविधिको रचनात्मक प्रयोग तथा आर्थिक विकासका प्रभावकारी उपायहरूमा अमेरिकी अभ्यासको प्रत्यक्ष अध्ययन गराउने उद्देश्य राखेको छ ।
अमेरिका भ्रमणमा नेपालसहित एशिया–प्रशान्त क्षेत्रका १० देशका प्रतिनिधिहरू सहभागी हुनेछन् । अष्ट्रेलिया, बंगलादेश, म्यानमार, क्याम्बोडिया, हङकङ, श्रीलंका, थाइल्याण्ड, भियतनाम लगायतका देशका युवा नेताहरू कार्यक्रममा सहभागी हुनेछन् । अष्ट्रेलियाबाट एक शहरका मेयर समेत सहभागी हुने यस भ्रमणको दायरा उच्चस्तरीय अन्तरक्रिया, कार्यशाला र नीति निर्मातासँगको सिधा संवादमा केन्द्रित हुनेछ ।

अमित हाल जनकपुरधाम उपमहानगरपालिका–२ का निर्वाचित वडा सदस्य हुन् । उनी नेतृत्व गरेको नव मिथिला फाउन्डेसनले मधेश क्षेत्रको सांस्कृतिक संरक्षण, युवा सशक्तिकरण, सामाजिक रूपान्तरण र नीति निर्माणमा युवाहरूको सहभागिता अभिवृद्धि गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएको छ । जनकपुरमा स्थापित संस्था भए पनि नव मिथिला फाउन्डेसनको प्रभाव मधेशको समग्र सामाजिक आन्दोलनमा देखिन्छ ।
अमित साहको सक्रियता र प्रतिबद्धता उनी निर्वाचित स्थानीय जनप्रतिनिधिका रूपमा पनि देखिन्छ । उनले स्थानीय स्तरमा सहभागितामूलक योजना निर्माण, पारदर्शी कार्यशैली र जनउत्तरदायी शासन प्रणाली स्थापनामा उल्लेखनीय काम गरेका छन् । विशेषतः युवा नीति निर्माणमा उनी अत्यन्त प्रभावकारी रूपमा अग्रसर छन् ।
अमेरिकी सरकारले प्रदान गर्ने इन्टरनेशनल भिजिटर लिडरशिप प्रोग्राम (आइभिएलपी) विश्वभरका उदाउँदा नेताहरूका लागि सबैभन्दा प्रतिष्ठित अवसरमध्ये एक मानिन्छ । यसमा भाग लिन पाउनु कुनै पनि व्यक्तिको व्यक्तिगत उपलब्धिमात्र नभई समग्र राष्ट्रको नेतृत्व क्षमताको अन्तर्राष्ट्रिय मान्यताको प्रतीक पनि हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


