सप्तरीमा अनुमति नलिई सञ्चालनमा रहेका थप पाँच विद्यालय फेला

सप्तरी, २ जेठ । सप्तरी जिल्लामा अनुमति नलिई थप विद्यालयहरु सञ्चालनमा आएका छन् । गत आइतबारदेखि सुरु भएको अनुगमनको क्रममा शुक्रबारसम्म १३ वटा विद्यालयमा अनुमति नलिई कक्षाहरू सञ्चालन भइरहेको पाइएको छ ।
शुक्रवारको अनुगमन टोलीले सदरमुकाम राजविराजका विभिन्न विद्यालयहरूमा निरीक्षण गर्दा अनुमति नलिई ५ वटा विद्यालय थप फेला पर्नु ठूलो चासोको विषय बनेको छ । शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवका अनुसार मिथिला पब्लिक एकेडमी, श्री इन्टरनेशनल बोर्डिङ्ग स्कूल, सुनगाभा एकेडमी, ग्लोबल ईङ्गलिश बोर्डिङ्ग स्कूल र जे. एस. आईदर बोर्डिङ्ग स्कूलहरूमा उक्त उल्लंघन पाइएको हो ।
यसैबीच, उच्च अदालत जनकपुर राजविराज इजलासले गत बैशाख १९ मा एक आदेश जारी गर्दै अनुमति बिना थप कक्षा सञ्चालन नगर्नका लागि जिल्ला शिक्षा समन्वय इकाईलाई निर्देशन दिएको थियो । त्यसपछि, जिल्लामा अनुगमन सुरु गरिएको हो ।
अनुगमनका क्रममा फेला परेका विद्यालयहरू :
१. मिथिला पब्लिक एकेडमी: ९ कक्षाको अनुमति लिई १० कक्षा सञ्चालन गर्दै
२. श्री इन्टरनेशनल बोर्डिङ्ग स्कूल: ५ कक्षाको अनुमति लिई ८ कक्षा सञ्चालन गर्दै
३. सुनगाभा एकेडमी:१ कक्षाको अनुमति लिई २ कक्षा सञ्चालन गर्दै
४. ग्लोबल ईङ्गलिश बोर्डिङ्ग स्कूल:८ कक्षाको अनुमति लिई ९ कक्षा सञ्चालन गर्दै
५. जे. एस. आईदर बोर्डिङ्ग स्कूल:५ कक्षाको अनुमति लिई १० कक्षा सञ्चालन गर्दै
बिहीबारको अनुगमनमा विष्णुपुर गाउँपालिकास्थित नेपाल लाइन्स पब्लिक स्कूलले ५ कक्षा अनुमति लिई कक्षा ५ सम्म सञ्चालन गरेको पाइएको थियो । यसअघि, हनुमाननगर कंकालनी नगरपालिका र कञ्चनरुप नगरपालिका क्षेत्रमा पनि ८ वटा विद्यालयहरूले अनुमति नलिई कक्षा सञ्चालन गरेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत कमलनाथ यादवले बताए अनुसार अनुमति नलिई कक्षा सञ्चालन गर्दै आएका विद्यालयलाई कानूनी प्रक्रिया पूरा नगरी कक्षा सञ्चालन नगर्नका लागि निर्देशन दिइएको छ । उनका अनुसार यी विद्यालयहरूले आफूलाई अनुमोदित कक्षाको भन्दा बढी कक्षासम्म विद्यार्थी भर्ना गरेर पठनपाठन गरिरहेका छन् । यसकारण व्यवस्थापनमा समस्या उत्पन्न हुन सक्ने सम्भावना छ ।
शिक्षा विभागले आगामी दिनमा थप अनुगमन गर्ने र विद्यालयहरूको अनुमतिको कडाईले पालन गराउने योजना बनाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


