रौतहट, १ जेठ । रौतहटको कटहरिया नगरपालिका–५ मा २१ वर्षीया नवविवाहिता महिला सानिया प्रविनको रहस्यमय मृत्युले गम्भीर सामाजिक र कानुनी प्रश्नहरू उठाइरहेको छ । विवाह भएको छैटौं महिनामै सानियाको शव आफ्नै कोठामा सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि यो घटना आत्महत्या हो कि योजनाबद्ध हत्या भन्ने विषयमा बहस चर्किएको छ ।

माइती पक्षले छोरीको हत्या भएको दाबी गर्दै दोषीलाई कडा कारबाहीको माग गरिरहेका छन् भने प्रमुख आरोपी श्रीमान् अरमान राय भाट फरार छन् । उता, घटनालाई दबाउन र अनुसन्धानमा प्रभाव पार्न बिचौलियाहरू प्रहरी कार्यालयमा सक्रिय भएको खुलेको छ ।

मृतक सानियाका बाबु, भारत बिहारको मोतिहारी जिल्लाका मोहम्मद मोलाजिम रौशनका अनुसार घटनाको एक दिनअघि छोरीले भिडियो कल गरेर आफन्तसँग खुसी हुँदै कुरा गरेकी थिइन् । सम्धी अहमद रायले माइती पठाउने सहमति दिएपछि सानियाले आफ्ना बाबुलाई फोन गरी गाडी लिएर लिन आउन अनुरोध गरेकी थिइन् । ‘छोरीको स्वर खुसीले भरिएको थियो,’ मोलाजिमले भावुक हुँदै भने, ‘तर त्यो खुसी केही घण्टामै चिताको आगोमा बदलियो ।’

बुबा मोलाजिमका अनुसार विवाहको समयमा सुनका गहना, फर्निचर, इलेक्ट्रोनिक सामानसहित ठूला दाइजो सामग्री दिएको भए पनि श्रीमान् र ससुराली पक्षले थप रकम, बाइक, एसीलगायत सामग्रीको माग गर्दै सानियामाथि दैनिक कुटपिट गर्ने गर्थे । उनले आरोप लगाए, ‘दाइजो नपुगेको भन्दै मेरो छोरीको हत्या गरिएको हो ।’

घटनाको अघिल्लो दिन छोरीलाई लिन आउने तयारी भइरहँदा अकस्मात मृत्युसँगै योजनाबद्ध हत्या भएको शंका झनै प्रबल भएको छ । माइती पक्षले सासु, श्रीमान् र अन्य परिवारजनको मिलोमतोमा सानियाको घाँटी थिचेर हत्या गरी आत्महत्या देखाउने प्रयास गरिएको आरोप लगाएको छ ।

घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले बिचौलिया र प्रभावशाली समूहहरूबाट अनुसन्धान प्रभावित पार्न अनेक प्रयास भइरहेको स्वीकार गरेका छन् । ‘घटना मानव ज्यानसँग सम्बन्धित भएकाले गम्भीर छ । सिफारिस आउने गर्छन् तर दोषी छुट्ने छैनन्,’ डिएसपी कार्कीले भने ।

उनका अनुसार फरार श्रीमान् अरमान राय भाटको खोजीका लागि टोली परिचालन गरिएको छ । मृतक सानियाकी दिदी नगमा र ज्वाइँ लालबाबुले दिएको बयानले पनि घटनामा श्रीमान् अरमानको संलग्नता पुष्टि गरिरहेको बताइएको छ ।

स्थानीय स्रोतहरूका अनुसार केही पराजित राजनीतिक नेताहरू र प्रभावशाली व्यक्तिहरूले प्रहरी, सरकारी वकील तथा अदालतसम्म पुगेर घटनामा मिलेमतो गर्ने प्रयास गरिरहेका छन् । यसले निष्पक्ष छानबिनमा गम्भीर आशंका उत्पन्न गराएको छ ।

प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टम गराए पनि घटनाको अन्तिम निष्कर्ष आउन बाँकी छ । सासु–ससुराली पक्षले आत्महत्या भने पनि माइती पक्षको तथ्य र बयानले हत्या भएको सम्भावनालाई बल दिएको छ ।