सप्तरी, १ जेठ । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन सरकारले देशमा स्थायित्व कायम गर्दै आर्थिक सुचकांकमा उल्लेखनीय सुधार ल्याएको दाबी गरेका छन् ।

सप्तरीको राजविराजमा बिहीबार नेपाल पत्रकार महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले वर्तमान सरकार जनताको निराशा चिर्दै आशाको उज्यालो दिन सक्रिय रहेको स्पष्ट पारे ।

उनले भने, ‘कांग्रेस–एमाले गठबन्धन सरकारले १० महिनामा मुलुकलाई आर्थिक, राजनीतिक र सामाजिक स्थायित्वको बाटोमा डोर्याउने उल्लेखनीय प्रयास गरेको छ । अहिलेका प्रधानमन्त्रीलाई अघिल्ला प्रधानमन्त्रीझैं तीन–तीन महिनामै विश्वासको मत लिन संसद् जानु परेको छैन । देश स्थिरतातर्फ अघि बढिरहेको प्रमाण यही हो ।’

गृहमन्त्री लेखकका अनुसार सरकारको १० महिनाको अवधिमा वैदेशिक मुद्रा सञ्चिति वृद्धि, राजस्व संकलनमा सुधार, आयात नियन्त्रण, निर्यात वृद्धिको पहल तथा बजार मूल्य स्थिरीकरणजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । उनले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनलाई यस्ता सुधारहरूको प्रमाणको रूपमा उल्लेख गरे ।

‘नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने देशको आर्थिक अवस्था पहिलेभन्दा सुदृढ बन्दै गएको देखिन्छ । यस्तो प्रगति निरन्तर रहनु आवश्यक छ । वर्तमान सरकार त्यसैको लागि क्रियाशील छ,’ गृहमन्त्री लेखकले भने ।

गृहमन्त्री लेखकले गठबन्धन सरकारले मुलुकलाई अस्थिरताको भुमरीबाट निकाल्दै विकास र समृद्धिको लक्ष्यमा केन्द्रित रहँदै आएको बताए । ‘सत्ता भत्किन्छ, सरकार ढल्छ भन्ने हल्लामा जनतालाई विश्वास नगर्न आग्रह गर्छु । यो सरकार पुरै कार्यकाल चल्छ,’ उनले विश्वास दिलाए ।

उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिअनुसार सरकार अगाडि बढिरहेको र त्यसमा कुनै मतभेद, अवरोध वा अडचन नरहेको समेत स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै गृहमन्त्री लेखकले जीबी राई संलग्न सहकारी ठगी प्रकरण र निर्मला पन्त बलात्कार तथा हत्या घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । ‘कुनै अपराधी उम्कन पाउँदैन । सत्यको जीत हुन्छ,’ उनले दाबी गरे ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको ढिलाइबारे पत्रकारको प्रश्नमा उनले सत्ता गठबन्धनभित्रको सहमतिको आधारमा चाँडै निर्णय हुने बताए । ‘अबको केही दिनभित्रै गभर्नरको नियुक्ति प्रक्रिया टुंगिन्छ,’ उनले स्पष्ट पारे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, नेपाली कांग्रेस सप्तरीका सभापति रामदेव साह, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवलगायतको उपस्थिति रहेको थियो ।