रौतहट, १ जेठ । नेकपा माओवादी केन्द्र रौतहटका नेता तथा पूर्वराज्यमन्त्री सत्यनारायण भगत बिनले आफू हाल कुनै पनि सरकारी पदमा नरहे पनि ‘नेपाल सरकार, राज्यमन्त्री’ भनेर उल्लेख गरिएको सरकारी ढाँचाको लेटरप्याड प्रयोग गरी पत्राचार गरेको खुलासा भएपछि तीव्र विवाद सुरु भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त पत्रका आधारमा उनीमाथि सरकारी पदको नाम दुरुपयोग गरेको आरोप लागेको छ ।

विवादास्पद लेटरप्याडमार्फत उनले मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयमा एक आर्थिक योजना समावेश गर्न अनुरोध गर्दै पत्र लेखेका थिए । पत्रमा ‘नेपाल सरकार, राज्यमन्त्री’ भनेर उल्लेख गरिएको देखिन्छ । यो उनको हालको हैसियतसँग मेल खाँदैन ।

सार्वजनिक भएको केही घण्टामै उक्त लेटरप्याड सामाजिक सञ्जालमा भाइरल बन्यो । आम नागरिकदेखि राजनीतिक विश्लेषकहरूसम्मले भगत बिनको उक्त कार्यलाई गैरकानुनी, अनैतिक र भ्रम सिर्जना गर्ने प्रयासको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लेखेका छन्, ‘राज्यमन्त्री पद नरहँदा पनि त्यसैको नाममा पत्राचार गर्नु आमनागरिकप्रति धोका हो । यस्तो कार्यमा कानुनी कारबाही हुनुपर्छ ।’ कतिपयले यो प्रवृत्ति कायम रहे देशमा पदको दुरुपयोग, प्रभावको आडमा प्रभावशाली व्यक्ति बनिरहने प्रवृत्ति झनै बढ्ने चेतावनी दिएका छन् ।

यसबारे प्रतिक्रिया दिंदै सत्यनारायण भगत बिनले सामाजिक सञ्जालमार्फत एउटा सन्देश जारी गरेका छन् । उनले लेखेका छन्, ‘मेरो सचिवालयको कमजोरीका कारण लेटरप्याडमा केही त्रुटि भएको हो । यसमा मेरो कुनै व्यक्तिगत नियत छैन । आम सञ्चारकर्मी तथा नागरिकलाई यसबारे जानकारी गराउँदै अन्यथा नलिनुहुन अनुरोध गर्दछु ।’

कानुनी विज्ञहरूका अनुसार कुनै व्यक्ति पूर्वपदमा रहे पनि त्यसपछिको पत्राचार वा कागजपत्रमा आफूलाई त्यही पदमा रहेको भनी देखाउनु आपराधिक कार्यको दायरामा पर्छ । आपराधिक भ्रम सिर्जना गरी सरकार वा राज्य निकायबाट कुनै लाभ लिने उद्देश्य प्रष्ट देखिन्छ भने कानुनअनुसार ठगी, विश्वासघात र पददुरुपयोगजस्ता मुद्दा लाग्न सक्छ ।