जलेश्वर प्रादेशिक अस्पतालमा औषधिको चरम अभाव

महोत्तरी, १ जेठ । मधेश प्रदेशको महोत्तरी जिल्लास्थित जलेश्वर प्रादेशिक अस्पतालमा पछिल्लो दुई महिनायता औषधिको चरम अभाव भएको छ । अस्पतालमा सामान्यदेखि अत्यावश्यक औषधिसमेत नपाउँदा उपचार सेवामा ठूलो असर परेको छ । औषधिको आशामा आउने सयौं बिरामीहरू खाली हात फर्कन बाध्य भइरहेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विकास साहका अनुसार अहिले अस्पतालमा सिटामोल, मेट्रोनिडाजोल, इच्क्, टाइफाइड र भाइरल ज्वरो जस्ता सामान्य रोगको उपचारका लागि आवश्यक औषधिसमेत छैनन् । ‘हामी आकस्मिक सेवा चलाउन आफैंले औषधि किनेर व्यवस्थापन गर्दै आएका थियौं, तर अब त्यो पनि असम्भव हुँदै गइरहेको छ,’ डा. साहले दुखेसो पोखे ।
जलेश्वर प्रादेशिक अस्पताल मधेश प्रदेशका महोत्तरी जिल्लाका १० नगरपालिका र ५ गाउँपालिकाका जनताको प्रमुख स्वास्थ्य गन्तव्य हो । अस्पतालमा हाल दैनिक ३ सयदेखि ४ सयसम्म बिरामी आउने गर्छन् । मेडिसिन, बालरोग, स्त्रीरोग, जनरल ओपीडी, दन्त र आकस्मिक कक्षहरूमा सेवा लिने बिरामीको संख्या दिनानुदिन बढ्दो छ ।
गर्मीका कारण हाल रुघाखोकी, टाइफाइड, ज्वरो, झाडापखाला, जण्डिस, छालाको एलर्जी र भाइरल सङ्क्रमणको बिरामी उच्च मात्रामा देखिन थालेका छन् । यस्तो अवस्थामा औषधिको अभावले समस्या भयावह बन्दै गएको छ ।
संघीय सरकारले तोकेको ९८ प्रकारका निःशुल्क औषधिहरू नागरिकले सरकारी अस्पतालबाट प्राप्त गर्न सक्ने कानुनी व्यवस्था भए पनि जलेश्वर प्रादेशिक अस्पतालमा त्यो केवल कागजमै सीमित देखिएको छ । औषधि अभावकै कारण बिरामीहरू निजी फार्मेसीमा गएर महँगा दरमा औषधि किन्न बाध्य छन् । गरीब, वृद्ध र असहाय बिरामीका लागि यो अवस्था जीवन–मरणको प्रश्न बनेको छ ।
मेसु डा. साहले स्वास्थ्य निर्देशनालय, प्रदेश सरकार र संघीय सरकारलाई पटकपटक औपचारिक पत्राचारमार्फत औषधि अभावको जानकारी गराइसकेका छन् । तर, हालसम्म कुनै ठोस कदम नचालिएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो भन्ने संविधानले भन्छ । तर, राज्यकै अस्पतालमा औषधिको लागि हात थाप्नु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हो,’ डा. साहले भने ।
औषधिको चरम अभावपछि बिरामीका आफन्त र स्थानीय बासिन्दा आक्रोशित भएका छन् । उनीहरूले सरकारको निष्क्रियता र उदासिनतालाई लज्जास्पद भनेका छन् । ‘हामीजस्ता गरीब जनता अस्पतालको भरमा हुन्छौं । यहाँ औषधि छैन, सेवामा ध्यान छैन, यो सरकार के हेरेर बसेको हो?’ एक बिरामीका आफन्तले भने ।
जिल्ला भित्रका जनप्रतिनिधि, नागरिक समाजका अगुवा र सरोकारवाला निकायहरूले पनि अस्पतालको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले औषधि आपूर्ति नहुँदा ज्यान जाने अवस्थासमेत आउन सक्ने भन्दै सरकारलाई तत्काल हस्तक्षेप गर्न माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


