महोत्तरी, ३० वैशाख । भारत सीमासँग सटेको महोत्तरीको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले सञ्चालन गरेको नियमित गस्तीको क्रममा ५९ किलोग्राम गाँजा फेला परेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक पुरणचन्द्र भट्टका अनुसार बोर्डर आउट पोस्ट (बीओपी) बथनाहामा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो । बीओपी बथनाहाका निरीक्षक योगेशकुमार खड्काको कमान्डमा खटिएको गस्ती टोलीलाई देखेर तस्करले सातवटा पोका छाडेर भागेका थिए ।

‘भरिया गाँजाका पोका बोकेर भारततर्फ जाँदै थिए,’ उपरीक्षक भट्टले भने, ‘तर सशस्त्रको गस्ती टोली देखेपछि उनीहरू पोका फालेर भागे । उक्त पोकाहरू खोली जाँच गर्दा कुल ५९ किलो गाँजा फेला परेको हो ।’

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार प्रतिबन्धित गाँजाको यो खेप नेपालबाट भारत तर्फ तस्करी गर्न लागिएको थियो । सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले नियमित गस्ती तथा निगरानी बढाएपछि तस्करहरूले पटक–पटक नयाँ तरिकाले लागूऔषध तस्करी गर्न खोज्ने गरेको प्रहरी स्रोत बताउँछ ।

‘गाँजा भरिएका पोका सामान्य झोलाझैं देखिने तरिकाले प्याक गरिएको थियो,’ एक प्रहरी अधिकृतले भने, ‘सामान्य आँखा झुक्याउने तरिकाले ढाकछोप गरिएको थियो । तर, गस्ती टोलीको सतर्कताले तस्करी प्रयास विफल भयो ।’

बरामद गरिएका सबै गाँजा नष्ट गर्न कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । फरार भरियाहरूको पहिचानका लागि अनुसन्धान जारी छ ।

यसअघि पनि महोत्तरी जिल्लाको विभिन्न सीमावर्ती नाकाबाट गाँजा, लागुऔषध र अन्य अवैध सामान तस्करीको प्रयास हुने गरेको पाइएको छ । लागूऔषध नियन्त्रणको लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त निगरानी कडा पारेका छन् ।