रहेनन् पत्रकार फणि महत

जनकपुरधाम, ३० वैशाख । पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा बढी समय सक्रिय रहेका रौतहटका पत्रकार फणि महतको निधन भएको छ ।
मस्तिष्कको ट्युमर (ब्रेन ट्युमर) बाट पीडित महतको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा मंगलबार राति साढे १० बजे निधन भएको हो ।
चन्द्रपुर नगरपालिका–४ रौतहटका स्थायी बासिन्दा महत अन्नपूर्ण पोस्ट दैनिकका रौतहट संवाददाता थिए । उनी स्थानीय सञ्चारमाध्यम रेडियो सुप्रिम र अनलाइन पोर्टल ‘कलमपाटी डटकम’ का संस्थापक तथा सञ्चालकसमेत थिए । स्थानीय तहमा जनसमस्यालाई उठाउने, लोकतान्त्रिक मूल्य र अभिव्यक्तिको स्वतन्त्रताको पक्षमा कलम चलाउने पत्रकारका रूपमा महत परिचित थिए ।
महत पत्रकारितामा समर्पित आत्मा थिए । उनले रौतहटलगायत तराईका विभिन्न जिल्लामा सामाजिक, राजनीतिक, आर्थिक तथा विकाससम्बन्धी विषयमा कलम चलाउँदै निष्पक्ष र जिम्मेवार पत्रकारिताको उदाहरण स्थापित गरेका थिए । उनका सहकर्मीहरूका अनुसार स्वास्थ्य स्थिति कमजोर हुँदासमेत उनले आफ्नो पत्रकारिता यात्रा रोकेनन् ।
उनको असामयिक निधनले पत्रकारिता क्षेत्र शोकमा डुबेको छ । पत्रकार महासंघ, स्थानीय सञ्चार संस्थानहरू र नागरिक समाजका प्रतिनिधिहरूले महतको निधनप्रति दुःख व्यक्त गर्दै उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशले महतको निधनलाई पत्रकारिता क्षेत्रको अपूरणीय क्षति भनेको छ । ‘फणि महत जस्ता सत्यनिष्ठ र निरन्तर लागिपर्ने पत्रकारको अभावले मधेशको पत्रकारिता क्षेत्र शून्य महसुस गर्नेछ,’ महासंघले भनेको छ ।
महतको पत्रकारिता जीवनले धेरै नव पत्रकारहरूलाई प्रेरणा दिएको छ । सामाजिक मुद्दा उठानदेखि विकासका विषयमा गहिरो अनुसन्धान गर्दै आएका महतले अनगिन्ती समाचारहरूमा जनताको आवाज बुलन्द गरेका थिए । उनका लेखनीहरूले स्थानीय निकायलाई सजग बनाउने र नागरिक सचेतना अभिवृद्धि गर्ने कार्यमा योगदान पुर्याएको छ ।
महतको निधनले एक पत्रकार मात्र नभई सामाजिक अभियन्ता, सत्यका पक्षधर र निष्पक्ष कलमधारीलाई पनि गुमाएको महसुस गरिएको छ । पत्रकारिता क्षेत्रमा उनको योगदान सधैं स्मरणीय रहनेछ ।
टुडेआवाज परिवारको तर्फबाट स्वर्गीय महतप्रति हार्दिक श्रद्धाञ्जली !
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


