समाजवादी महिला संघको अध्यक्षमा निर्मला यादव निर्वाचित, ४७ सदस्यीय नयाँ टिम गठन

जनकपुरधाम, ३० वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी महिला संघ नेपालको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट निर्मला यादव संघको केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् ।
महाधिवेशनमार्फत ४७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । निर्वाचन प्रक्रियाको जिम्मेवारी सम्हालिरहेका प्रमुख निर्वाचन आयुक्त चन्देश्वर प्रसाद सिंहले नयाँ समितिको नामावली सार्वजनिक गर्दै सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएको जानकारी दिए ।
संघको वरिष्ठ नेतृत्वमा विविध जातीय, भौगोलिक र सांस्कृतिक प्रतिनिधित्व हुने गरी चयन गरिएको छ । अध्यक्ष निर्मला यादवसँगै उपाध्यक्षमा प्रमिलाकुमारी सिंह, सुनिता देवी मोची, दिना लामा र सीमा नेसा निर्वाचित भएका छन् । महासचिवको जिम्मेवारी भगवती सुवेदीले पाएकी छन् भने उपमहासचिवमा सर्निता कुमारी यादव चयन भएकी छन् ।
त्यसैगरी, सचिव पदमा सरस्वती जयसवाल, सवनम अन्सारी नियुक्त भएका छन् भने प्रमिला गिरीले कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नेछिन् ।
समाजवादी महिला संघको नयाँ केन्द्रीय समितिमा विभिन्न क्षेत्र, समुदाय र पेशागत पृष्ठभूमिका महिलाहरू समावेश छन् । चयन भएकामध्ये अम्भु सिंह, रेणुका सिंह, उषा कुमारी, निर्मला देवी रमण, सावित्री पण्डित, सुधा दास, विनीता कुमारी सिंह, पावित्री साह, ललिता देवी साह, लालीमाया तामाङ, सिताकुमारी यादव, सुशीला घलान, ललिता यादव, बसन्ती देवी नुनीया, कुन्ता राई, सपना अधिकारी, शर्मिला राई, रीता खापुङ, बन्दना कर्ण, सफिना खातुन, सब्बो खातुन, इश्रत खातुन, शान्ता तामाङ मोक्तान, फुलमाया नेम्बाङ, मनुमाया मोक्तान, अम्बिका कुमारी विश्वकर्मा, सुनिता देवी महरा, ज्योति खम्बु, रिपल राई, ओममाया आङदेम्बे, स्त्रीमाया तामाङ, गीता कार्की, सरस्वती पोखरेल, कोपिला कार्की, गायत्री यादव, लिला परियार र मधु सोनकर रहेका छन् ।
महाधिवेशनले महिलाको राजनीतिक सहभागिता विस्तार गर्ने र संघको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको बताइएको छ । संघले समावेशी र सहभागितामूलक राजनीतिलाई अघि बढाउने जनाएको छ ।
संघकी नवनिर्वाचित अध्यक्ष यादवले महिलाको हकहित, सशक्तीकरण र समान अधिकारका लागि संघ अझ सशक्त र क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेकी छन् । ‘यो नेतृत्व महिलाको आवाज बुलन्द बनाउन, नीति निर्माणमा प्रभावकारी भूमिका खेल्न र सबै वर्ग र समुदायका महिलालाई समेट्न केन्द्रित हुनेछ,’ अध्यक्ष यादवले भनिन् ।
महाधिवेशनमा जसपाका शीर्ष नेताहरूको उपस्थिति रहनुका साथै महिला नेतृहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


