धनुषामा अनौठो घटना, २२ दिनमै नवविवाहिता र जेठानी बेपत्ता

जनकपुरधाम, ३० वैशाख । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा एउटा अनौठो र रहस्यमय घटनाले स्थानीय समुदायलाई चकित तुल्याएको छ । विवाह भएको मात्र २२ दिनमै नवविवाहिता बेहुली आफ्नो जेठानीसँगै रातारात फरार भएपछि साह परिवार गम्भीर मानसिक तनावमा परेको छ । परिवारजनले घटनामा आपराधिक कोण हुन सक्ने शंका व्यक्त गरेका छन् ।
धनौजी गाउँपालिका–२ निवासी अनिल कुमार साह र उनका कान्छा भाइ सुनिल कुमार साहको परिवार अहिले एक प्रकारको सामाजिक र मानसिक ‘संकट’को बीचमा परेको छ । सुनिलको भारतको बिहारस्थित मधुवनीको दुर्गास्थानबाट २२ दिनअघि मात्रै विवाह भएको थियो । तर, बेहुली घरमा आफन्तजनको बाक्लो उपस्थिति नहुँदै एक्कासि रातारात फरार भएकी हुन् । त्यो पनि आफ्नी जेठानीसँगै ।
अनिलको करिब ६ वर्षअघि प्रेम विवाह भएको थियो । उनले धनुषाको दुहबी महिनाथपुरकी मुस्लिम समुदायकी जलिना खातुनसँग प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । विवाहपछि उनी धर्म परिवर्तन गरी ‘सँध्या साह’ नामले चिनिन थालिन् । उनीसँग अनिलको डेढ वर्षीया छोरी सुचिता साह पनि छन् ।
तर, पछिल्लो घटनाले अनिललाई छोरीको जिम्मेवारी र श्रीमतीको विश्वासघात दुबैको पीडामा पुर्याएको छ । ‘बच्चालाई छाडेर गएपछि म मानसिक रूपमा निकै कमजोर भएको छु,’ अनिल भन्छन् ।
परिवारका अनुसार मंगलबार बिहान २ः५८ बजे घर नजिकको सिसिटिभी फुटेजमा दुवै महिला देखिएका छन् । उनीहरू दुईवटा मोटरसाइकलमा सवार हुँदै घरबाट बाहिरिएको देखिन्छ । तर, सिसिटिभी फुटेजमा अनुहार र मोटरसाइकलको नम्बर प्लेट स्पष्ट देखिएको छैन । यसले खोजीलाई थप जटिल बनाएको छ ।
अनिलले बताएअनुसार जेठानी सँध्या साहको इमो एपमार्फत कसैसँग निरन्तर सम्पर्क भइरहेको थियो । उनी भन्छन्, ‘शंका त अनेक छन् । यो घटना केवल घरबाट भागेको मात्र हो कि मानव बेचबिखनसँग सम्बन्धित छ भन्ने कुरामा पनि आशंका छ ।’
फरार भएका बेला दुवै महिलाले घरबाट विवाहमा प्राप्त गरगहना र करिब ४५ हजार नगद पनि लिएर गएको परिवारले जनाएको छ । यस घटनाले साह परिवारमा मात्र नभई आसपासको समुदायमा पनि त्रास फैलिएको छ ।
अनिलले प्रहरीमा घटनाको जानकारी गराइसकेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको र फरार महिलाहरूको खोजीका लागि विभिन्न सुराकी संकलन भइरहेको जनाएको छ । यद्यपि हालसम्म ठोस सुराग पत्ता लाग्न सकेको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


